प्रधानमन्त्री ओली र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, साउन २ । सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना विकास सम्भव नभएको बताएका हुन् ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित भेटमा उनले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने र उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने सरकारको नीति रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । मंगलबारको भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सँगै थिए ।

मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको उनको भनाइ छ ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालले जनाए । निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्नेलगायत गैरमौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालले बताए ।

उद्यम व्यवसाय सम्बद्ध नियामकीय निकायहरूले आपसमा समन्वय बढाई लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताए ।

सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा उनको जोड छ । आर्थिक वर्षको सुरुमै नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको उनले बताए ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताए । बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्नेमा महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले जोड दिए ।

Published Date: 17 July 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली