भक्तपुर बोडेको ऐतिहासिक कमलपोखरी, मन बहलाउने गन्तव्य (फोटो फिचर)

भक्तपुर बोडेको ऐतिहासिक कमलपोखरी, मन बहलाउने गन्तव्य (फोटो फिचर) : Icon Khabar

भक्तपुर, असार ३१ । मध्यपुर थिमी नगरपालिका–८, बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुःमा आधा शताब्दीपछि फुलेका छन्, ढकमक्क कमल । नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँ अप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनर्निर्माण गरी वरिपरि बार लगाइएको छ ।

पोखरी आसपासमा बिहान, बेलुकी स्थानीयको ठूलो जमघट हुने गर्दछ। ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’का लागि स-परिवार अहिले यो पोखरी आसपासमा जाने गर्दछ्न ।

ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमलपोखरी व्यक्तिका नाममा दर्ता भइसकेको थियो । पोखरीमा किला गाडेर पटक पटक किनबेच भइसकेको ऐतिहासिक पोखरीको अधिकार फेरि पनि स्थानीयले आफ्नो मातहत ल्याउन सफल भएका छन् ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएको थियो ।

पोखरी सम्याएर घडेरी बनाउन डोजर आएपछि स्थानीयवासीले पोखरी बिक्री भएको बल्ल चाल पाए । त्यसपछि विरोधमा उत्रिए पनि ठुला पाखुरा भएका मानिस आएर लालपुर्जा तेस्र्याउँथे । त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिकासहितको सहयोगमा अदालतको ढोका ढकढकाउन पुगे ।

भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गतेको फैसलाले उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएको थियो । त्यसपछि पोखरीको संरक्षणमा नगरपालिका जुटेको थियो ।

बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा छ। साथै सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउने परम्परा छ।

कमलपोखरी बोडेका स्थानीय मात्रै होइन अन्यत्रबाट आएका र यस क्षेत्रमा बसोबास गर्दै आएकाहरुका लागि अहिले घुमफिर गर्नेहरुका लागि एउटा आर्कषक गन्तव्य को रुपमा विकास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
9
+1
0
+1
1
+1
0
+1
1
Published Date: 15 July 2024
Website | + posts