कोरा भक्तपुरले भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्य बनाउनेछ (आइकन संवाद)

कोरा भक्तपुरले भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्य बनाउनेछ (आइकन संवाद) : Icon Khabar

भक्तपुर, असार २६ । भक्तपुरमा यहि साउनको ५ गते शनिबारका दिन कोरा भक्तपुर साइकल यात्रा हुँदैछ। यसको बारेमा विस्तृत कुराकानी हामीले यसै इभेन्टका आयोजक साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालासँग आइकन संवाद गरेका छौं। सोही संवाद यहाँ प्रस्तुत छ।

१. सर्वप्रथम आइकन खबरको आइकन संवादमा तपाईलाई स्वागत छ।

धन्यवाद।

२. कोरा भक्तपुरको चौठौं संस्करणको तयारी कस्तो हुँदैछ यसको बारे जानकारी दिनुस न।

यसपाली हामीले कोरा भक्तपुरलाई एउटा नयाँ उचाइमा पुर्याउने उद्वेश्यका साथ मेहेनत गरिरहेका छौं। साथीहरू निक्कै नै उत्साहका साथ तयारीमा जुट्नुभएको छ। हामीलाई विश्वास छ यो संस्करण कोरा भक्तपुरको मुल उदेश्य अनुरूप भक्तपुर जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्न महत्वपुर्ण कोषेढुंगा हुनेछ।

३. साइकल कनेक्ट भक्तपुरले हरेक वर्ष यो कार्यक्रम गर्नु पछाडीका कारणहरु के के रहेका छन् ? साइकललाई नै किन प्राथमिकता दिनुभयो ?

सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मन, अमेरिका, भारत लगायतको देशमा पनि हुने गरेको छ। नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइकलिङ कार्यक्रम हो।

भक्तपुरमा साइकल कनेक्ट भक्तपुरले कोरा साइकलिङ च्यालेन्ज गर्नुको मुख्य कारण भनेको एक स्थापित साइकलिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ। साइकल कनेक्ट भक्तपुरको मुल मन्त्र भनेको “पैदल र पेडल मैत्री शहर” हो। कोरामा हरेक उमेर समुह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने गर्दा धेरै भन्दा धेरै साइकल प्रेमीहरू सगँ जोडिने अवसर पनि हो।

साथै धेरै नयाँ मनिसहरूले कोराको अवसर पारेर नियमित साइकल चलाउन शरू पनि गर्ने गरेको छ। जसरी सरस्वती पुजाको दिनमा अक्षराम्भ गरिन्छ। एउटा सुसंस्कृत साइकल संस्कृति निर्माण गर्न धेरै भन्दा धेरै जनमानसमा साइकल प्रति सकारात्मक र सम्मानको भावना जागृत हुन जरूरी छ। साइकल संस्कृति केवल साइकलसगँ मात्र जोडिएको छैन, समाजको विभिन्न आयमहरूसगँ यसको सम्बन्ध रहेको छ। यो सबै पक्षलाई उजागर गरेर लैजान यो कार्यक्रम फलदायी हुदैँ आएको छ।

४. यो पटकको कोरा भक्तपुर अघिल्लो वर्षहरुको भन्दा किन फरक हुँदैछ ? सहभागीहरुले कति दुरी र भक्तपुरको कुन कुन ठाउँ परिक्रमा गर्नुपर्नेछ ?

यो पटक कोरा भक्तपुर यो भन्दा अगाडीको संस्करण भन्दा निक्कै नै विस्तारित र भव्य हुदैंछ। सम्पुर्ण भक्तपुरवासीले गर्व गर्न लायकको उत्सवको रूपमा कोरा भक्तपुरको तयारी हुदैँछ। ने

पालभरीमा हजार भन्दा धेरै साइकलयात्रीहरू सहभागी हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२४ को प्रवर्द्वकद्वय भक्तपुर पर्यटन विकास समिति तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा सोही दिन अर्थात श्रावण ५ गते नःपुखु परिसरमा भक्तपुरको मौलिक तथा स्थानिय उत्पादनको प्रवर्धन गर्न “GoLocal Mela” को पनि आयोजना हुदैँछ।

यो यसपालीको कोरा भक्तपुरको एक मुख्य आकर्षण पनि रहनेछ। यसको साथै साइकल कनेक्ट जेन जीको आयोजनामा यहीं असार २९ गते १८ वर्ष भन्दा मुनिका भाइ बहिनीहरूको लागि किड्स कोरा भक्तपुरको आयोजना हुदैँछ। सोही दिन “वाल्क टु कनेक्ट” ले प्लेसमेकिङ इभेन्ट पनि आयोजना गर्दैछ भने कोरा भक्तपुरको प्रचारार्थ भक्तपुर फुटबल क्लब र साइकल कनेक्ट भक्तपुर बीच मैत्रीपुर्ण फुटसल खेलको पनि आयोजना हुदैछ।

रूटको सन्दर्भमा कोरा एक तिब्बती शब्द हो जसको शाब्दिक अर्थ भनेको कुनै पवित्र स्थलको परिक्रमा लगाउनु हो। यसै अनुरूप कोरा भक्तपुरका सहभागीहरूले भक्तपुर जिल्लाको परिक्रमा लगाउनेछन्। यसको लागी हामीले २५ कि.मी, ५० कि.मी., ७५ कि.मी तथा १०० कि.मीको विभिन्न रूटहरू डिजाइन गरेका छौं।

नयाँ साइकल यात्रीहरुलाई सहभागिताको लागी उत्प्रेरणा जगाउन यसै वर्ष देखि हामीले २५ कि.मी. रूट थप गरेका छौं। सबै रूटको यात्रा प्रारम्भ नःपुखू परिसरबाट हुदैछ। नःपुखूबाट इटाछें – खौमा – लायकू – बालाखू – चोछें – भोलाछें – महालक्ष्मी – थालांछे- सला गणेश – क्वाथंदो – गछें- सुजःमारी- दत्तात्रय – इनाचो – गोःमारी – सुकुलढोका – तःमारी – बोलाछें – नासमना- वंशगोपाल – भार्वाचो हुदैं सर्वप्रथम भक्तपुर नगरको प्रदक्षिणा पथको परिक्रमा गर्दै अगाडी बढ्नेछ।

तत्पश्चात सहभागीहरू सल्लाघारी चोंगागणेश- तीनकुने- अरनिको राजमार्ग- शंखधर चोक – बालकुमारी – बहाका – बोडे – निलबाराही – बेशीगाँउ- चांगुनारायण- त्रीशुल डाँडा – तेलकोट – नगरकोट – जीतपुर- खावा – नाला- चित्तपोल- सांगा- खाल्चोक – आशापुरी- रानीकोट – गुण्डु- गाम्चा- बालकोट- लोकन्थली- कौशलटार- सानोथिमी हुदै पुनः नःपुखु भक्तपुर नगरमा आएर यात्रा सकिनेछ। सफलता पुर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गर्ने कार्यक्रम रहन्छ।

रूटबारे थप विस्तृत विवरण हाम्रो वेभसाइट http://cycleconnectbhaktapur.org तथा gallimaps को मोबाइल एप मा पनि उपलब्छ हुनेछ।

५. यसमा सहभागी हुन कुन कुन ठाउँबाट सहभागीहरु आउने अपेक्षा गर्नुभयो ?

साइकल कनेक्ट भक्तपुर नेपालको सबैभन्दा सकृय साइकल समुह हो जसको कारण कोरा भक्तपुरको नेपाल भरी नै साइकल प्रेमीहरू माझ व्यापक प्रचार प्रसार भइरहेको छ। यो वर्ष पनि कोरा भक्तपुरमा भक्तपुर, पाटन, काठमाडौं, किर्तिपुर, बनेपा लगायत हेटौडा, चितवन, नवलपरासी, विराटनगर, झापा, नेपालगञ्ज, पोखरा, तनहुँ, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाबाट सहभागीहरू रहनेछन। यसका साथै केही विदेशी साइकल यात्रीहरूको पनि सहभागिता रहने अपेक्षा छ।

६. यो पटकको कोरा भक्तपुरलाई सफल बनाउन कुन कुन संघ संस्थासँग सहकार्य गर्नुभएको छ ?

पटक कोरा भक्तपुर साइकल कनेक्ट भक्तपुरको मात्र नभएर सम्पुर्ण भक्तपुरवासीको आफ्नो कार्यक्रम हुनेछ। कोरा भक्तपुरको प्रथम संस्करण देखि नै हामीले समुदायको सहयोगमा एक अद्वितीय कार्यक्रम कसरी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिदैं आएका छौं।

माथी उल्लेखित संस्थाहरू सहित हामीलाई यो भव्य कार्यक्रममा इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अफ भक्तपुर, जेसिस भक्तपुर, जेसिस जुनियर भक्तपुर, जेसिस चांगुनारायण, रोटर्याक्ट भक्तपुर, रोटर्याक्ट मध्यपुर, लियो क्लब अफ सुर्यविनायक, लियो केदारेश्वर, लियो रुद्राक्ष, लियो रियलटेक, सांगाली साथी समुह, बज्रचार्य क्लब, युथ सोसाइटी फर सोसियल वेलफेयर, भाउगाँले ट्राभलर्ज, 365 Days of Exploring Bhaktapur, पायोनियर ओपन क्रु, बाल बिकास स्काउट, भक्तपुर स्काउट लगायत विभिन्न स्थानमा स्थानियहरूले कम्युनिटी सपोर्टरको रूपमा निरन्तर सहयोग गर्दै आउनु भएको छ।

कार्यक्रममा प्राविधिक सहयोग जुजु बाइक्सबाट उपलब्ध रहनेछ भने प्राथमिक उपचारको लागि रेडक्रस भक्तपुरसगँ सहकार्य हुदैछं। मुख्य प्रायोजकको रूपमा नेपाल इको प्यानल रहनेछ। यसका साथै नेपाल इन्जिनियरिङ कलेज, प्याङ्क बाइक, हेभन हिल रिसोर्ट, फन्की हिल रिसोर्ट, बाल विकास स्कुल, खोप्रिङ स्कुल लगायतबाट पनि सहयोग प्राप्त भएको छ।

सहयोग र सहकार्यको प्रस्तावहरू निरन्तर आइरहेकोले कार्यक्रम हुने दिन सम्म अझै धेरै जना कोरा भक्तपुरसगँ जोडिनु हुनेछ भन्ने हामीलाई विश्वास छ।

७. दर्ताका लागि आवश्यक प्रक्रिया के हुन् र सहभागी शुल्क कति लाग्नेछ ?

कोरा भक्तपुर साइकल च्यालेन्जमा सबैले सहभागिता जनाउन सक्नुहुन्छ। यो कुनै प्रकारको रेस अथवा र्याली नभइकन एउटा आत्म-चुनौतीको हो। एक कठिन र साहसिक साइकल यात्रा गरेपछि सहभागीहरूले पक्कै पनि आत्मसन्तुष्ति तथा आत्मविकासको अनुभव गर्नुहुनेछ। हाल सम्म ९५० जना भन्दा धेरैले कोरा भक्तपुरको लागि दर्ता गरिसक्नु भएको छ।

यदी तपाईहरूलाई पनि कोरा भक्तपुरमा सहभागिता जनाउने रहर छ भने सर्व प्रथम mykorachallenge.com मा गएर अनलाइन दर्ता गर्नुपर्ने हुन्छ। भक्तपुरमा कोरा च्यालेन्ज गर्न दर्ता गर्ने समयमा “भक्तपुर” छान्नुपर्ने हुन्छ। यसको लागि कुनै शुल्क लाग्दैन। भक्तपुर कोरा च्यालेन्जमा इच्छुक सहभागीहरूको लागि हामीले ब्रेकफास्ट तथा लन्चको पनि व्यवस्था गरेका छौ।

यसको लागी सहभागीहरूले ५५०।- तिरेर फुड कुपन लिन सक्नुहुन्छ। सिमित संख्यामा हामीले Special Edition Kora Bhaktapur Jersey पनि निशुल्क वितरण गर्नेछौ।

८. अन्तिममा सम्पूर्णमा साइकल कनेक्ट भक्तपुरको संदेश के रहेको छ ?

कोरा भक्तपुरको माध्यमबाट साइकल केनेक्ट भक्तपुरले यहाँको सांस्कृतिक र प्राकृतिक विविधताको सदुपयोग गरी भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्यको रूपमा उभ्याउने लक्ष्य राखेको छ।

भक्तपुरको ब्रान्डिङ गर्दै पर्यटन अभिवृद्धी गर्ने, युवा साइकल प्रेमीहरूलाई प्रेरणादायी तवरले संलग्न गराउँदै, उनीहरूको स्थानीय सम्पदामा गर्वको भावना जगाउँदै स्वास्थ्य र तन्दुरुस्तीको प्रवर्द्धन गर्ने, खेलकुद र संस्कृतिको उत्सवमा विविध समुदायलाई एकै ठाउँमा ल्याएर, एकता र नागरिक गौरवको भावना जगाएर भक्तपुरको जीवन्तता बढाउने रहेको छ।

यसका साथै सबै उमेरका सहभागीहरूका बीच सक्रिय जीवनशैली र शारीरिक स्वास्थ्यलाई आफ्नो शारीरिक र मानसिक क्षमता विस्तार गर्न उत्प्रेरणा दिने, भक्तपुरका कम चिनिएका कुना कन्दरा तथा सांस्कृतिक स्थलहरूको अन्वेषणलाई प्रोत्साहन गर्ने, बासिन्दाहरूलाई सहभागी हुन र स्वयंसेवक हुन प्रोत्साहित गर्दै, समुदायको संलग्नता र स्वामित्वको बलियो भावनालाई बढावा दिदै शुभचिन्तकहरू, सहयोगीहरू, स्वयंसेवकहरू र सहभागीहरू बीच विभिन्न अवसरहरू सिर्जना गर्ने उदेश्य राखेको छ।

यसको लागी सबैको साथ र सहयोग रहने विश्वासका साथ हाम्रो तर्फबाट केही कुरा राख्ने अवसर दिनु भएकोमा आइकन खबरलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
0
+1
3
+1
0
+1
0
Published Date: 10 July 2024
Website | + posts