भक्तपुर नपा र विभिन्न नगरपालिकाका नगर प्रमुखहरुबीच भेटघाट

भक्तपुर नपा र विभिन्न नगरपालिकाका नगर प्रमुखहरुबीच भेटघाट : Icon Khabar

भक्तपुर, माघ १७ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कर्णाली तथा लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न नगरपालिकाका नगर प्रमुखहरुबीच सोमबार छुट्टा छुट्टै भेटघाट गरेको छ ।

विभिन्न स्थानीय तहका प्रमुखहरुसँग अनुभव आदानप्रदानको सिलसिलामा प्रमुख प्रजापतिले सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, सुर्खेतको गुर्बाकोट नपा प्रमुख हस्त पुन, बाँकेको कोहलपुर नपाका प्रमुख पूर्णप्रसाद आचार्य, सल्यान जिल्ला शारदा नपाका प्रमुख प्रकाश भण्डारी र बर्दिया जिल्ला बाँसगढी नपाका प्रमुख खड्गबहादुर खड्कासँग अलग अलग भेटघाट गरेको हो ।

भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबारे संक्षिप्त परिचय र नगरपालिकाका विशेषताहरुबारे अवगत गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल र ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको जानकारी दिए । साथै प्रजापतिले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा रहेको स्पष्ट पार्दै शैक्षिक ऋण, छात्रवृत्ति, सम्पदा पुनःनिर्माणलगायत नपाबाट सञ्चालित विविध पक्षबारे उल्लेख गरे ।

भेटमा भेरीगंगा नपाका प्रमुख यज्ञप्रसाद ढकालले कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको भेरीगंगा नपा १३ वटा वडामा विभाजित भएको, नगरपालिकाको २०७८ सालको जनगणनाअनुसारको कुल जनसंख्या ४८ हजार ५ सय रहेको जानकारी दिदै क्षेत्रफलको हिसाबले सुर्खेतको ५ नगरपालिकामध्ये यो नगरपालिका तेस्रो ठूलो नगरपालिकाको रुपमा रहेको बताए ।

उनले यस क्षेत्रमा बेमौसमी तरकारी खेती, दुग्ध उद्योग, र बाख्रापालनको माध्यमबाट यहाँका मानिसहरुको जीविकोपार्जन भइरहेको बताउँदै सबै जातजातिहरुको मिश्रित बसोबास रहेको यो नगरपालिकामा विशेषगरी क्षेत्री, ब्राम्हण, दलित र मगर जातिहरुको बसोबास रहेको बताउए । साथै भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको उपलब्धी निकै प्रशंसनीय भएको बताउँदै यस नपाले मासिक रुपमा नियमित सरसफाई अभियान सञ्चालन गरिरहेको जानकारी गराए ।

त्यस्तै सुर्खेतको गुर्भाकोट नपाका प्रमुखसँग भएको भेटमा प्रमुख पुनले कर्णाली प्रदेश सुर्खेत जिल्लादेखि पूर्वमा अवस्थित यस नगरपालिकालाई सहरको रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउँदै नपाको कुल जनसंख्या ४३ हजारभन्दा बढी रहेको बताए । व्यापार, उद्योग, पर्यटन र व्यवसायिक कृषिको माध्यमबाट यहाँका बासिन्दाहरुको जीविकोपार्जन भइरहेको बताउँदै सीमित स्रोतबीच जनताको सेवा गरिरहेको, नपाको मुख्य बजार मेहेलकुना रहेको प्रमुख पुनले अवगत गराउन गराएको थियो । उक्त भेटघाटमा गुर्बाकोट नपाका उपप्रमुख मैना बि.क र कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

साथै कोहलपुर नपाका प्रमुख पूर्णप्रसाद आचार्यसँगको भेटमा प्रमुख आचार्यले नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्ने यस नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग किमि. रहेको बताए । उनले बाँके जिल्लाको सदरमुकाम सहरको रुपमा रहेको नेपालगञ्जबाट करिब १० किमि उत्तरपट्टि रहेको कोहलपुर नपाले नगर प्रहरीको व्यवस्थापन समेत गर्दै आइरहेको बताए ।सोही भेटमा सल्यानका शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले भक्तपुर नपाले गरिरहेको असल अभ्यासबारे आफू अवगत भएको र भक्तपुरको कामबारे सिक्न भक्तपुर नपाको अवलोकन भ्रमणमा गर्ने योजनामा रहेको समेत जानकारी गराएको थियो ।

यसैबीच कोहलपुरको बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्कासँग भएको भेटमा प्रमुख खड्काले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने यस नगरपालिका नयाँ नगरपालिकाको रुपमा रहेको बताउँदै उक्त नगरभित्र ५६ वटा विद्यालय रहेको जसअन्तर्गत ४० वटा सामुदायिक र १६ वटा निजी विद्यालयहरु रहेको बताए । बाँसगढी नपाभित्र बर्दिया राष्ट्रिय निकुञ्ज रहेको बताउँदै यस नपा ९ वटा वडामा विभाजित रहेको र करिब ७२ हजारको जनसंख्या रहेको उहाँले जानकारी दिएक । सो भेटमा बाँसगढी नपाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र शिक्षा अधिकृत छत्रबहादुर शाहीको उपस्थिति रहेको थियो ।

विभिन्न नगरपालिकाका नगर प्रमुखहरुसँगको भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रञ्जना त्वातीको पनि उपस्थिति थियो भने उक्त भेटमा नगर प्रमुख प्रजापतिले नगर प्रमुखहरुलाई नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts