नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुग्यो

नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुग्यो : Icon Khabar

काठमाडौँ, जेठ ३ । नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस प्रकरणमा विभिन्न ठाउँबाट ११ जनालाई पक्राउ गरेको हो।

बुधबार प्रहरीले इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र बिहीबार काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत एक महिलालाई पक्राउ गरेको हो। उनीहरू दुई जनालाई पक्राउ गरेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

आइटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, बसन्त पाण्डे र बिर्जुकुमार चौधरी प्रहरीको हिरासतमा छन्।

यसबारे अनुसन्धान सक्ने प्रक्रियामा रहेको एसपी होबिन्द्र बोगटीले बताए। ‘अब हामी केही दिनमा अनुसन्धान प्रतिवेदन बुझाउँछौं। अहिले एक चरणको अनुसन्धानपछि हामी थप काम गर्छौं,’ उनले भने।

यातायात व्यवस्था विभाग र यस मातहत कार्यालयमार्फत् अनधिकृत रूपमा सवारी लाइसेन्स जारी हुने गरेको भन्ने गुनासो आउने गरेका थिए। गुनासो आएपछि यसबारे विभागले अध्ययन थालेको थियो।

इडिएल प्रणालीमा चलखेल गरी लाइसेन्सहरू जारी हुने पत्ता लगायो। त्यस्तै लाइसेन्स नम्बर क्रमिक रूपमा जारी हुनुपर्नेमा सो अनुसार नभई शंकास्पद देखिएको भन्दै पुस २१ गते इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रेजिस्ट्रेसन सिस्टम (इडिएलभिआरएस) प्रणालीमा शंकास्पद रूपमा भण्डारण भएका तथ्याकंहरूको छानबिन गर्न समिति बनाएको थियो।

विभागको सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा बनेको समितिमा विभागका शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, बोधराज बराल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहाल सदस्य थिए।

समितिले प्रतिवेदन तयार पारेसँगै थप अनुसन्धान गर्न सिआइबीलाई पत्राचार भएको थियो। त्यसयता सिआइबीले अनुसन्धान गर्दै आएको हो।

समितिले तयार पारेको प्रतिवेदन अनुसार देशभरका विभिन्न यातायात कार्यालयबाट एक लाख दुई हजार सात सय ११ वटा नक्कली लाइसेन्स जारी गरिएको भेटिएको छ। यी लाइसेन्सहरू माइग्रेटेड एप र पेपरकार्ड वर्गका रहेको पाइएको छ।

नक्कली लाइसेन्स जारी गर्ने कार्य कार्यालयका कर्मचारी र बिचौलियाबीचको मिलेमतोमा हुने देखिएको छ।

नक्कली लाइसेन्स बनाउने समूहले कार्यालयमा दर्ता भएका तर नवीकरण नगर्ने जस्ता सेवाग्राहीको लाइसेन्स, विदेसिएकाहरूको लाइसेन्स, मृत्यु भएकाहरूको लाइसेन्समा रहेको विवरण मेटाएर नयाँ विवरण राख्दै जारी गर्ने पाइएको प्रतिवेदनमा उल्लेख छ। यसो गर्दा कतिपय समय सक्रिय प्रयोगकर्ताकै लाइसेन्स विवरण मेटाएर नयाँ विवरण दर्ता भएका पनि छन्। – साभार सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024
Website | + posts