अक्स्फोर्डमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

अक्स्फोर्डमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २७ । शैक्षिक सत्र २०८० को अन्त्यमा आएर सल्लाघारीमा अवस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलले अन्तिम परीक्षाको नतिजा प्रकाशन सँगै दुई दिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको वर्षभरिको क्रियाकलापको समीक्षा सहित अभिभावकत्वको कलाको बारेमा सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

विद्यालयका संस्थापक अध्यक्ष राम दुवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षक तुलसीहरी प्रजापति प्रमुख वक्ता थिए । कक्षा नर्सरीदेखि दुईसम्म अध्ययनरत विद्यार्थीका अभिभावकका निम्ति गत शनिबार र कक्षा तीनदेखि नौसम्मका विद्यार्थीका अभिभावकका निम्ति गत सोमबार सो दुई दिने उत्प्रेरणामुलक गोष्ठी आयोजना गरिएको थियो। नानीबाबुहरुको शारीरिक र मानसिक भरणपोषणको जिम्मा छुट्टाछुट्टै रूपमा अभिभावक र शिक्षकको मात्र नभई दुवै पक्षको बराबरी दायित्व हुने कुरा वक्ताले अभिभावकसामु राखेका थिए। दुवै दिनमा अभिभावकहरुको साथै विद्यालयका सबै कर्मचारीहरुको सहभागिता ज्यादै उत्साहपूर्ण र उल्लेखनीय रहेको सो कार्यक्रम शिक्षक शिव भुजूद्वारा सञ्चालित थियो।

प्रमुख वक्ता तुलसीहरी प्रजापतिको अभिमुखिकरण पश्चात अभिभावकहरुको धारणा प्रस्तुत गर्ने क्रममा कक्षा दुईका छात्रा युनिशा बिकका अभिभावक कमल बिक, कक्षा दुईका छात्र छेवंग राईका अभिभावक दादोमा शेर्पा, कक्षा चारका रितेश श्रेष्ठ र नौका छात्र राकेश श्रेष्ठका अभिभावक राधिका श्रेष्ठ र कक्षा छका दालिशा महत र देनिश महतका अभिभावक श्री नबिन कुमार महतले पालैपालो बोलेका थिए। बालबालिकाप्रति अभिभावकहरुले बहन गर्नु पर्ने दायित्वका बारेमा मनछुने गरी प्रष्ट भइएकोमा वक्ताहरुले खुसी प्रकट गरेका थिए। अभिभावक लक्षित यस्तो प्रेरणादायी कार्यक्रम आयोजना गरिएकोमा विद्यालयप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कक्षाकोठामा पनि विद्यार्थी केन्द्रित भई स्थान पाउनु पर्नेमा वक्ताहरुले सुझाव दिएका थिए।

कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सहजकर्ता तुलसीहरि प्रजापति तथा उपस्थित समस्त अभिभावकप्रति कार्यक्रम सभापति राम दुवालले हार्दिक आभार प्रकट गरेका थिए। बालबालिकाको सर्वाङ्गीण विकासमा जति विद्यालयको हात रहन्छ, त्यति नै दायित्व अभिभावकको पनि हुने कुरामा उनले जोड दिएका थिए । आउँदै गरेको नयाँवर्ष २०८१ को शुभकामना अर्पण गर्दै विद्यालयका प्रिन्सिपल रवि दुवालले आगामी दिनहरुमा अभिभावक, विद्यार्थी र शिक्षक लक्षित यस्ता उपलब्धिमूलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts