नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छः बेलायत

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छः बेलायत : Icon Khabar

काठमाडाैँ, चैत १५ । आगामी वैशाखमा काठमाडौँमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन् ।

राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे । दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न उनको अर्थमन्त्री पुनसँग आग्रह थियो । राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूहरुले काठमाण्डौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरुसँग पनि छलफल र समन्वय गरिरहेको जानकारी समेत दिए । ‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ’, उनले भने, ‘हामी लगानी सम्मेलन सफल पार्न सक्रिय भएर लागेका छौं ।’

राजदूत फेनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र बञ्चितीकरणमा परेका समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । राजदूत फेनले फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे–लिस्टमा पर्नबाट बच्न नेपालले गरिरहेको प्रयासको पनि सराहना गरे ।

मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । काठमाण्डौँस्थित बेलायती दूतावासले लगानी सम्मेलन सफल पार्न खेलेको भूमिकाको पनि उनले सराहना गरे । मन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे । वैदेशिक लगानीको वातावरण बनाउन एक दर्जन बढी कानून संशोधनको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो । मन्त्री पुनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने अपेक्षा लिइएको बताए । जवाफमा राजदूत फेनले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै उनले गत फागुनमा नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा नेपाल आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल हेर्ने मन्त्री एन्ड्रयु मिचेलले घोषणा गरेको सहयोग कार्यान्वनको चरणमा रहेको पनि जानकारी दिए । मिचेलले गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बेलायतका तर्फबाट नयाँ विकास पोर्टफोलियोमार्फत नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने प्रतिबद्धता जनाएका थिए ।

सन् २०३० सम्म कार्यान्वयन हुने उक्त रकम नेपालले जलवायु परिवर्तनका संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा खर्च गर्नेछ । उक्त रकमबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा २० लाख महिला र बालबालिकाको गुणस्तरीय स्वास्थ्य र शिक्षामा सेवामा पहुँच पुग्ने अपेक्षा दुवै देशको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने