काठमाडौँ, चैत ८ । बुधबार ३.३४ अङ्कले घटेकोको सेयरबजार आज थप १५.३७ अङ्कले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।
सर्वोत्तम सिमेन्टको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत मंगलबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य, आज ७३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। यसैका कारण आज कारोबार रकम बढ्न पुगेको हो।
बिहीबार व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी घटेको छ।
Published Date: 21 March 2024