भक्तपुरको सिपाडोल हत्या प्रकरण : मृतककी श्रीमतीलाई दुई लाख फिरौती माग्ने सुवाल पक्राउ

भक्तपुरको सिपाडोल हत्या प्रकरण : मृतककी श्रीमतीलाई दुई लाख फिरौती माग्ने सुवाल पक्राउ : Icon Khabar

काठमाडौँ, फागुन २० । भक्तपुरको सिपाडोलमा १० फागुनमा मृत भेटिएका तेह्रथुम छथर गाउँपालिका–२ का ३३ वर्षीय गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ढकालको हत्या आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार मृतक ढकाल फागुन ९ गते घरबाट तेल किन्न निस्किएका थिए । तर उनी त्यसपछि कोठामा फर्किएनन् । ढकाल र सुवाल केही समयअघि मात्रै रक्सी भट्टीमा भेटेका थिए । भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ । रक्सी खाएर उनीहरू दुबै जना सुवालको घरमा गएका थिए । त्यहाँ बसेर करिब पौने १२ बजेतिर सुवालले ढकालको फोनबाट उनकी श्रीमती रेनु ढकाललाई फोन गरेका थिए ।

‘सँगै रक्सी खाएर उनीहरू सुवालको घरमा गएका रहेछन् । पौने १२ बजेतिर उनीहरूले प्राङ्क कल गरी श्रीमतीलाई अपहरणमा परेको भनेर दुई लाख रुपैयाँ माग गरेका रहेछन्,’ प्रहरी निरीक्षक निर्मल थापाले सुनाए । तर त्यसैबीच साढे १२ बजेतिर श्रीमतीमाथि दुर्व्यवहार गरेपछि सुवालले इँट्टा प्रहार गरी ढकालको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए । हत्यापछि सुवालले ढकालको शव गोठमा राखेका थिए ।

त्यसपछि श्रीमतीसहित सुवाल काभ्रे गएका थिए । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक हुन् । आफ्ना श्रीमान हराएको र फोन आएको भन्दै रेनु प्रहरी वृत्त जगातीमा पुगेकी थिइन् । उक्त खबरपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जसक्रममा प्रहरीले शनिबार सुवाललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts