बढ्यो ठमेलमा पर्यटकको चहलपहल

बढ्यो ठमेलमा पर्यटकको चहलपहल : Icon Khabar

काठमाडौँ, फागुन १९ । पर्यटकीय सिजन सुरु हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ।

पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ ।

बसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउँछन्।

सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् ।

काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन्।

वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो। यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटक आउँछन्।

यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो। सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेब्रुअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेब्रुअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2024
Website | + posts