आजदेखि नेपालभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’

आजदेखि नेपालभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ : Icon Khabar

काठमाडौं, फागुन ११ । आज फागुन ११ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ प्रदर्शनमा आएको छ । यो फिल्म देशका १ सय २० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुनेछ ।

मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ ले पछिल्लो साता देशका तीन स्थानमा गरिएको प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । यो फिल्मका दुई वटा ट्रेलरले पनि दर्शकबाट सुखन प्रतिक्रिया पाएका छन् ।

यो फिल्मको पहिलो प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

बेलायतपछि निर्देशक चाम्सले यो फिल्मलाई नेपालका तीन शहरमा प्रीमियर गरे । गत फागुन ५ गते धरान, फागुन ७ गते पोखरा तथा गत बुधबार काठमाडौंको बिग मुभिजमा यो फिल्म प्रीमियर गरिएको थियो ।

प्रीमियर शोमा फिल्मका निर्देशक मिलन चाम्सले भने – ‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे यसअघि धेरैपटक बोलेँ । अब यो फिल्म हेरेर बोल्ने पालो दर्शकको भएको पनि अवगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको यो फिल्ममार्फत प्रीमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए ।

नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो फिल्ममार्फत अभिनेता रितेश चाम्सले डेब्यू गरेका छन् । फिल्ममा क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रूपमा सुरेश राई छन् ।

यो फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ ले लेखेका हुन भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो फिल्ममा हिमाल केसीको द्वन्द निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2024
Website | + posts