बागीश्वरी माविको ६५ औं, कलेजको १६ औं र कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सव सम्पन्न

बागीश्वरी माविको ६५ औं, कलेजको १६ औं र कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सव सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन १० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले बागीश्वरी माध्यमिक विद्यालयको ६५ औं, बागीश्वरी कलेजको १६ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सव समारोहको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले सिद्धान्त र विचारबाट प्रभावित जनता आफ्नो विचारमा अडान लिनुपर्ने बताउँदै देशमा ब्याप्त भ्रष्टाचार, अनियमितता आदिको विरोध गर्ने नयाँँ पुस्ता देशलाई आवश्यक भएको बताए ।

परीक्षामा खुकुलो पारी दिए देशद्रोहीहरु तयार हुने बताउँदै उनले अनुशासित र मेहनती विद्यार्थीहरु आफ्नो पद र मर्यादाअनुसार काम गर्न सक्षम हुने बताए।

उद्योगधन्दा तथा कलकारखानाहरु निजीकरणले गर्दा देशको आर्थिक अवस्था झन् झन् कमजोर हुँदै गएको बताउँदै उनले देशमा भएका ठूल्ठूला काण्ड र देशघाती सम्झौताहरुमा शासक दलहरुकै संलग्नता पुष्टि भइरहेको बताए।

पढे–लेखेका बुद्धिजीवीहरुले देशलाई घात गरिरहेको बताउँदै उनले युवाहरुलाई शिक्षा र रोजगारीको नाममा विदेश पठाउने चलखेलमा अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेको प्रष्ट पारे।

विद्यार्थीहरुलाई शैक्षिक र बौद्धिक रुपमा अगाडि बढाउन प्रेरित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले एनजीओ तथा आइएनजीओहरु बुद्धिजीवी गुप्तचरको रुपमा परिचालित रहेकोतर्फ सजग हुनुपर्ने बताए।

आलोचना र आत्मलोचनाबाट बाट भाग्ने होइन, त्यसको डटेर सामना गर्न विद्यार्थीहरुलाई सक्षम बनाउनुपर्ने बताउँदै उनले राजधानी केन्द्रित विकास र सेवा सुविधाले काठमाडौं उपत्यका प्रदूषित र अपराधको केन्द्र बन्दै गइरहेको बताए।

कार्यक्रमका सभापति बागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोजगारीको निम्ति श्रमसँग जोडिएको शिक्षा आवश्यक भएको हुँदा राज्यले देशको आवश्यकताअनुसार राम्रो पूर्वाधारसहितको प्राविधिक शिक्षालय खोल्नु प्रभावकारी हुने बताए।

भक्तपुर नपाले सीटीईभीटीसँग हेल्थ एसिस्टेन्ट, रेडियोलोजिष्ट, फार्मेसीलगायतका विषयको कक्षा सञ्चालन गर्न स्वीकृति माग गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म स्वीकृति प्राप्त नभएको बताउँदै उनले सक्षम कलेजहरुलाई कक्षा सञ्चालन गर्न सहज वातावरणको अवस्था सिर्जनामा सीटीईभीटीले आवश्यक समन्वयकारी भूमिका खेल्नुपर्ने बताए।

भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अनुमति पाए धेरै सस्तोमा पढाउने योजना रहेको बताउँदै उनले ख्वप इन्जिनियरिङ कलेजले राम्रा र क्षमतावान इन्जिनियरहरु उत्पादन गरेजस्तै चिकित्सकहरु पनि उत्पादन गर्ने उद्देश्य नपाको रहेको बताए।

भक्तपुरका कलेजहरुले गुणस्तरीय शिक्षाको साथै देशको सार्वभौमिकता र स्वतन्त्रताबारे पनि जानकारी दिने प्रयास गरिरहेको बताउँदै उनले देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुग्ने काम कहींकसैबाट भए बागीश्वरीका शिक्षक र विद्यार्थीहरु जुनसुकै बेला त्यसको विरोधमा उत्रन तयारी अवस्था बस्नुपर्ने विचार राखे।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले बागीशवरी मावि र कलेजले देश विकास, समाज उत्थान र समाजलाई सभ्य र सुसंस्कृत बनाउन यथोचित योगदान पुर्याइरहेको बताउँदै सांस्कृतिक, शैक्षिक, साहित्य र प्रकाशनको क्षत्रेमा यस विद्यालयले महत्वपूर्ण योगदान पुर्याइरहेकोको बताए।

मेहनती विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासले बागीश्वरीले आजको उचाइ प्राप्त गरेको बताउँदै उनले शिक्षालयहरु भनेका सामूहिक प्रतिस्पर्धा गर्ने थलो हो र देशको लागि आवश्यक उत्कृष्ट विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिनुपर्ने बताए।

नेपालमा हजारौंको संख्यामा एनजीओ र आइएनजीओहरु सञ्चालनमा रहेको बताउँदै उनले नेपालको शिक्षा, धर्म र स्वास्थ्य क्षेत्रमा लगानीको नाममा ती संस्थाहरुबाट आर्थिक चलखेलहरु भइरहेको बताए।

शासकहरुलाई बुख्याचा बनाउन एनजीओ र आइएनजीओहरु उद्दत रहेको बताउँदै उनले भारतीय एनजीओ–आइएनजीओहरुले नेपालको सार्वभौमिकता र सम्प्रभुतामाथि हमला गर्ने प्रयास भइरहेको बताए।

बागीश्वरी मावि सञ्चालन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरी मावि स्थानीय जनताले अपनत्व गरेको र राजनीतिक नेतृत्वले मार्गनिर्देश गरेको शैक्षिक संस्था भएको बताउँदै बागीश्वरीले शैक्षिक पाठ्यक्रमको पठनपाठन सँगै विद्यार्थीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि प्रशिक्षित गर्दै आएको बताए।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा कलेज स्थापनादेखि हालसम्म ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइसकेको तथ्यांक रहेको उल्लेख गरे।

कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेज तथा बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै कार्यक्रममा आधारभूत विद्यालय समितिका अध्यक्ष रोशनराज तुइतुइ, नगर शिक्षा अधिकृत साधुराम फुँयाल, शिक्षक राजन लाखा, विद्यार्थी प्रतिनिधि छात्रा काजल थापा र छात्र सुवान सुवालले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले २५ वर्ष सेवा प्रदान गर्नुभएका शिक्षक पियुषराज गोसाइँलाई सम्मान र उत्कृष्ट शिक्षक र कर्मचारीहरुलाई पनि सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2024
Website | + posts