दीपेन्द्र लिग-२ को पहिलो खेलमा नहुने

दीपेन्द्र लिग-२ को पहिलो खेलमा नहुने : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् ।

दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिता बारे निर्णय हुनेछ ।

दीपेन्द्रले आइएलटि२० मा विश्वस्तरीय खेलाडीविरुद्ध खेल्ने अवसर पाउनेछन् । त्यसैले पनि नेपालमा क्यानडा सिरिज र लिग-२ का केही खेल गुम्ने थाहा हुँदाहुँदै उनलाई उक्त लिगमा खेल्न प्रशिक्षक टोलीबाट स्वीकृति दिइएको थियो ।

यसबाहेक दीपेन्द्रको व्यावसायिक करिअरको लागि पनि यसले सहयोग पुग्ने विश्वास रहेको छ । दीपेन्द्रले यो लिगमा राम्रो गरेको अवस्थामा अन्य फ्रेन्चाइज लिगमा खेल्ने बाटो खुल्ने र त्यसले विश्वकपअघि उनको क्षमतामा सहयोग पुग्ने टोलीको विश्वास छ ।

नेपालले यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा टि२० विश्वकप खेल्दैछ । त्यसका लागि लिग-२ लगत्तै नेपालले लगातार तयारी सिरिजहरु पनि खेल्दैछ । दीपेन्द्रलाई उच्च स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने अवसर आएकै कारण ओडीआई छोडेर यूएई जान स्वीकृति दिइएको थियो ।

दीपेन्द्रको अनुपस्थितिमा नेपालले देव खनाललाई मध्यक्रममा प्रयोग गर्ने सम्भावना रहेको छ । पवन सर्राफ अलराउन्डरको भूमिकामा रहेपनि क्यानडा सिरिजमा उनको प्रदर्शन औसत थियो । त्यसैले प्रशिक्षक मोन्टी देशाइले देवलाई मध्यक्रममा थपेर रोहित पौडेल र कुशल मल्लबाट पार्ट टाइम बलिङको ओभर निकाल्ने देखिन्छ ।

नेपाली समय अनुसार आज रातको ८:१५ बजे दीपेन्द्र सम्मिलित जायन्टसले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जिते टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोली दोस्रो क्वालिफायरमा टोलीले फाइनल पुग्न दोस्रो प्रयास गर्नेछ । फाइनल शनिबार हुनेछ ।

नेपालले लिग २ मा बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2024
Website | + posts