एक खेल बाँकी रहँदै नेपाललाई ओडीआई सिरिजको उपाधि

एक खेल बाँकी रहँदै नेपाललाई ओडीआई सिरिजको उपाधि : Icon Khabar

काठमाडौं, माघ २७ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो ।

क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।

कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहले अर्धशतक बनाएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केहि दबाबमा पर्यो ।

रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।

ओपनर अनिल शाहको आक्रामक सुरुवातपछि कप्तान रोहित र देवले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।

देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।

देव आउट भएपछि क्रिजमा आएका भीम सार्की २१ बलमा २३ रन जोडेर आउट भए । ४ चौका प्रहार गरेका उनी दिलप्रित बज्वाको बलमा विकेटकिपरबाट समातिए । पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा ठाकरकै बलमा कट बिहाइन्ड भए । सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै ९-९ रनमा नटआउट रहे ।

त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।

पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको थियो । त्यसपछि अनिल र रोहितले इनिङ सम्हाल्दै जितको आधार तयार गरे ।

क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो ।

Published Date: 10 February 2024






ताजा
माउन्ट भ्याली स्कूल: करिब चार दशकको यात्रा, गुणस्तरीय शिक्षा र अन्तरसंस्थागत सहकार्यमा जोड
लिवालीबाट लागूऔषधसहित ३७ वर्षीय राजु कर्मचार्य पक्राउ
भक्तपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
चैत २७ गते दिउँसो ३ बजे भैलख तानी साँझ ५ बजे गहिटीमा विराजमान गराइने






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान