काठमाडौँ, माघ १४ । भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरू बारेमा थप विवरण उपलब्ध गराइ दिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । उनीहरूविरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ ।
प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ भएको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलिया माथिको अनुसन्धानका क्रममा थप कर्मचारीको पनि संलग्नता पुष्टि भएपछि उनीहरूको खोजी भइरहेको हो । भिजिट भिसा प्रकरणमा ३९ जना पक्राउ परेकामा कीर्ते कागजपत्र बनाउने समूहविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ ।
भिजिट भिसा प्रकरणपछि अध्यागमन र प्रहरीबीच विवाद चर्किएको छ । अनुसन्धानका नाममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै अध्यागमनका कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले अध्यागमन र प्रहरी कर्मचारीलाई सँगै राखेर छलफल समेत गरेको थियो । अहिले भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू भएको छ ।
Published Date: 28 January 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news