वातावरण संरक्षण मञ्चको कृषिमा विषादी न्यूनीकरण सम्बन्धि गोष्ठी सम्पन्न

वातावरण संरक्षण मञ्चको कृषिमा विषादी न्यूनीकरण सम्बन्धि गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, माघ ६ । वातावरण संरक्षणको आयोजनामा शनिबार कृषिमा विषादीको प्रयोग न्यूनीकरण सम्बन्धि गोष्ठी सम्पन्न भयो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले माटोको उर्वरा शक्ति बढाउन काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर जैविक विषादीको मल बनाउने कारखानाको लागि अनुसन्धान भइरहेको बताउँदै कृषिमा आधारित संस्कृति जीवन्त बनाउन रैथाने उत्पादन वृद्धिको लागि प्रदेश सरकारले ६०%, स्थानीय पालिकाले २०% तथा सम्बन्धित कृषकले २०% लगानी सहित हरेक वर्ष १०% उत्पादन वृद्धिको नीति प्रदेश सरकारको रहेको जानकारी दिए।

उहाँले फरकफरक उत्पादनले बजारमा सन्तुलन कायम हुने बताउँदै जनताको जनजीवन र संस्कृतिको सम्वर्द्धनको लागि सबैले आआफ्नो व्यवहार र चरित्रलाई कृषिमा आधारित गर्न जोड दिए।

सोही कार्यक्रममा वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका अध्यक्ष रामलाल गिरीले समृद्ध र स्वस्थ देशको लागि किसान उत्पादन गर्न जहिल्यै तयार हुने अवस्थामा बजारको व्यवस्थापनमा राज्यसत्ता लागेर किसान बचाउनुपर्ने बताउँदै वैदेशिक विषादीको विकल्पको रूपमा स्वदेशमै उत्पादन हुने जैविक तथा प्रांगारिक मलको प्रयोग गरी माटोको उर्वर गुण वृद्धि गर्नुपर्ने बताए।

उक्त कार्यक्रममा जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष प्रचण्ड प्रधानले विज्ञान प्रविधिमा विकास भएको कृषि आैजारको प्रयोगलाई सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै खाद्यान्नको उत्पादन वृद्धिको लागि प्रयोग गरिने विषादी स्वास्थ्यको लागि खतरापूर्ण रहेको बताउनुभयो ।

सोही मञ्चका सदस्य लक्ष्मी न्याैपानेले कृषि उत्पादनमा विषादीको प्रयोग र त्यसबाट पर्ने वातावरणीय तथा स्वास्थ्य असरबारे सहजीकरण गरे।

मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जनस्वास्थ्यकर्मी डा. धनमान श्रेष्ठ लगायत महासचिव मणिराम लामिछानेले बोले।

सो कार्यक्रमको प्रायोजन बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2024
Website | + posts