कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी काठमाडौँमा सुरु

कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी काठमाडौँमा सुरु : Icon Khabar

काठमाडौँ, माघ ४ । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन्।

‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले तीन हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन्।

कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक उमेश चौहान, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन्।

कार्टुनलाई समाजसँग अन्तर्क्रिया गर्ने सशक्त माध्यमका रूपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो।’

प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखिएका छन्। पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्।

कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रूपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। उनी भन्छन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ। तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न आइपुगेको छु।’

‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन्। कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याइपुर्‍याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजीको सुरुवात गरेका छन्।

‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोलम र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो। कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने।

कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत रहेका मिश्रको कार्टुन प्रदर्शनी १४ माघसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts