एडिबीसँग २१ अर्ब सहुलियतपूर्ण ऋण र ७० करोड अनुदान सम्झौता

एडिबीसँग २१ अर्ब सहुलियतपूर्ण ऋण र ७० करोड अनुदान सम्झौता : Icon Khabar

काठमाडौँ, माघ ३ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ ।

सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।

सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताए । महिला, सीमान्तकृत तथा अर्थसामाजिक रुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उनको भनाइ छ ।

एडिबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनःरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताए । पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटल रूपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उनको भनाइ छ ।
सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

Published Date: 17 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास