अन्तराष्ट्रिय सेयर बजारका लागि सन् २०२३ हरियो वर्षका रुपमा साबित

अन्तराष्ट्रिय सेयर बजारका लागि सन् २०२३ हरियो वर्षका रुपमा साबित : Icon Khabar

काठमाडौं, पुस १३ । कोभिड-१९ यता सन् २०२० देखि सन् २०२२ सम्म अधिकांश राष्ट्रको सेयर बजार रातो भएर बन्द भएको थियो । रुस युक्रेन युद्ध, आर्थिक मन्दी लगायतका कारण अधिकांश देशहरुको सेयर बजार घटेको थियो । तर, सन् २०२३ लाई भने अन्तराष्ट्रिय सेयर बजारहरुले हरियो वर्षका रुपमा विदाइ गर्न लाएको देखिन्छ ।

वर्षको अन्तिमका केही कारोबार दिनहरु बाकी रहँदा एसिया, अमेरिका र युरोपका अधिकांश मुख्य सेयर बजार परिसूचक सन् २०२३ मा बढेका छन् । यसअवधिसम्म सबैभन्दा धैरै अर्जेन्टिनाको सेयरबजार ‘मेर्भेल’ ३३० प्रतिशतले बढेको छ । बिहीबारको कारोबार अनुसार यसवर्ष अमेरिकी क्षेत्रका १४ राष्ट्रहरुमध्ये १० राष्ट्रको मुख्य सेयर बजार परिसूचक सकारात्मक देखिएका छन् ।

यता, ४ देशका सेयर बजारमा भने गिरावट आएको छ । यस्तै, ४० युरोपियन राष्ट्रहरुमध्ये ३३ देशको बजार बढेको छ । ७ राष्ट्रको सेयर बजार मात्र घटेको देखिएको छ । त्यस्तै, एसियाली राष्ट्रहरुमध्ये १३ देशको बजार घट्दा १५ वटाको भने बढेका छन् ।

ट्रेडिङ इकोनोमिक्सका अनुसार प्रमुख अर्थतन्त्रहरुमध्ये सन् २०२३ मा अमेरिकाको सेयर बजार परिसूचक ‘एस एन्ड पी ५००’ २४ प्रतिशतले बढेको छ । बेलायतको ‘जीबी १००’ २.८७ प्रतिशत, फ्रान्सको ‘एफआर ४०’ १४.९२ प्रतिशत, इटालीको ‘आइटी ४०’ २६.२५ प्रतिशत, रुसको ‘एमओइएक्स’ ४३.८१ प्रतिशत, भारतको सेयर बजार ‘सेन्सेक्स’ १८.४५ प्रतिशत र ‘निफ्टी-५०’ १९.७२ प्रतिशतले बढेको छ ।

यता, चीनको सेयर बजारमा भने गिरावट आएको छ । त्यहाँको ‘सीएसआइ ३००’ ११.४६ प्रतिशतले’, ‘सांघाई ५०’ ११.३३ प्रतिशतले र ‘सांघाई कम्पोजिटीभ’ सन् २०२३ मा ३.८७ प्रतिशतले घटेको छ । एसियाली राष्ट्रहरुमध्ये यसवर्ष पाकिस्तानको सेयर बजार ‘केएसइ १००’ ५६.२३ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts