आजदेखि सिनेमा हलमा ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

आजदेखि सिनेमा हलमा ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा : Icon Khabar

काठमाडौं, मंसिर २९ । आज मंसिर २९ गते शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाल फिल्म प्रदर्शन भएका छन् । उदय सुब्बाद्वारा निर्देशित ‘दुई कदम’ तथा आशुतोषध्वज कार्कीद्वारा निर्देशित ‘जम्प’ आजदेखि दर्शकमाझ आएका हुन् ।

लामो समयदेखि प्रचार–प्रसारमा खटिएको ‘दुई कदम’ मा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।

यो फिल्मको एउटा गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी तथा गीता ढुंगानालाई फिचर गरिएको छ । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा तारादेवी लिम्बूको लगानी छ ।

दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशिष अविरल तथा विकास चौधरीको संगीत रहेको यो फिल्ममा राजु किरातीको द्वन्द निर्देशन छ । धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा छायांकन गरिएको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।

आजैदेखि प्रदर्शनमा आउने ‘जम्प’ मा सरोज श्रेष्ठ, बिनिता थापा मगर, सन्देश शाक्य, सगुन तामाङ, मञ्जिल जिसी, शंकर महर्जन, एञ्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदीप भुसाल, इलिस विष्ट, रितेश राजकर्णिकारलगायत कलाकारको अभिनय छ ।

यो फिल्मले मनोवैज्ञानिक थ्रिलर शैलीमा कथा भनेको छ । एउटा एथ्लेटिक्स खेलाडीको कथा समेटिएको यो फिल्ममा जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सफलता पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार–चढावलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 December 2023
Website | + posts