ओलावालेको गोलमा धनगढी विजयी

ओलावालेको गोलमा धनगढी विजयी : Icon Khabar

काठमाडौँ, मंसिर १४ । ओलावाले अफिजले इन्ज्युरी समयमा गोल गर्दा नेपाल सुपर लिग २ अन्तर्गत विहीबार धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा मुनिबाट फिनिस गर्दै १-० को जित पक्का गरे ।

पहिलो हाफमा धनगढीले बुटवललाई दबाबमा राखेपनि दोस्रो हाफमा भने बुटवलले पनि अवसर सिर्जना गरेको थियो । पहिलो हाफमा अहमद हिजाजीको प्रहार पोस्टमा लाग्नु धनगढीका लागि दुर्भाग्य सावित भयो । तर ओलावालेले बेन्चबाट मैदान छिर्दै अन्तिम २५ मिनेटमा पटक पटक गोलरक्षक र डिफेन्सलाई समस्या दिए । र अन्त्यमा गोल गर्दै ३ अंक दिलाए ।

धनगढीको यो लिगमा दोस्रो जित हो । यसअघि वीरगन्जविरुद्ध पनि अहमद हिजाजीले अन्तिम समयमा गोल गर्दै २-१ को जित दिलाएका थिए । धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लँदा बुटवल बिना कुनै अंक पुछारमा छ ।

सुरुवाती २० मिनेटमा आशिष चौधरीले बुटवलको डिफेन्सलाई पटक पटक समस्या दिए । राइट ब्याक सरोज तामाङले सातौं मिनेटमा नै पहेंलो कार्ड खाएपछि आशिषले उनीविरुद्ध दबाब कायम गर्न सहज भएको थियो ।

चार विदेशी खेलाडी मात्र पहिलो रोजाइमा उतारेको धनगढीले सटिक अन्तिम पासका लागि सुरुवातदेखि संघर्ष गर्यो । पछिल्लो खेलका प्लेयर अफ द म्याच कृतिश रत्न छुन्जु नहुँदा मिडफिल्ड र आक्रमणमा समन्वय कमी देखियो ।

बुटवलले कप्तान एरिक विष्टको फ्रिकिकमा गोलरक्षक मोहमद ताहालाई परिक्षण गरेको थियो । एरिकले पहिलो बारमा हानेको फ्रिकिक ताहाले फर्काएपछि रिबाउन्डमा बुटवलका खेलाडी केहि ढिलो भए ।

२५ औं मिनेटमा आशिष र अहमद हिजाजीको सहकार्य गोलमा परिणत हुन सकेन । आशिषले ६ यार्ड बक्स नजिकबाट दिएको अन्तिम लो क्रसमा हिजाजीको प्रहार पोस्टमा लाग्दै बाहिरियो । उनले निकै कठिन एंगलबाट उक्त प्रहार गरेका थिए ।

३१ औं मिनेटमा जिलेस्पीले बायाँ विंगमा उत्कृष्ट मुभ सिर्जना गरे । कमल श्रेष्ठलाई बिट गरेर अघि बढेका उनले दिएको लो क्रसले पेनाल्टी क्षेत्रभित्र सहकर्मी खेलाडी भने भेट्न सकेन । त्यसअघि जिलेस्पीकै हेडर पोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।

३६ औं मिनेटमा बुटवल र धनगढी दुवैले गोल गर्ने अवसर पाए । दुवैतर्फ धनगढीका अभिषेक गुरुङ नै निर्णायक भूमिकामा थिए । एरिकको कर्नरमा जिलेस्पीको हेडरलाई अभिषेकले गोललाइनबाट क्लियर गरे । उक्त क्लियरेन्सपछि अघि बढेको काउन्टर अट्याकमा अभिषेककै हेडर गोल हुन सकेन । हिजाजीले दायाँ विंगबाट दिएको क्रसमा उनको हेडरमा गोलरक्षक बिट भएपनि थोरै परबाट बाहिरिएको थियो ।

४० औं मिनेटमा बुटवलका स्टेफेन बिनोङको प्रहार गोल हुन सकेन । उनले सरोजको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै देवेन्द्र तामाङलाई बिट गरेपनि अन्तिम प्रहारमा गोलरक्षक ताहालाई कटाउन सकेनन् ।

५५ औं मिनेटमा रोहन कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टतर्फ जान सकेन । ६७ औं मिनेटमा धनगढीले पेंलती क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहार गोलरक्षकसम्म पुग्न सकेन ।

६८ औं मिनेटमा धनगढीका हिजाजीलाई गोलरक्षक ममडुले पेनाल्टी क्षेत्र बाहिर लडाएपनि रेफ्रीले पेनाल्टी दिएनन् । उक्त मुभका क्रममा सहायक रेफ्रीले अफसाइड नदिएको भन्दै बुटवलको बेन्चले असहमति जनाएको थियो । त्यसक्रममा रेफ्री कविन ब्यन्जनकारले बुटवलका अफिसियल सुगन तन्डुकारलाई रातो कार्ड देखाए ।

७४ औं मिनेटमा ओलावाले आफिजले मैदान छिरेको तेस्रो मिनेटमा गोल गर्ने अवसर पाए । अफसाइड ट्रयाप बिट गरेर उनले डिफेन्डरको दबाबका बीच वन भर्सेस वनमा गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा ओलावाले पुन: वन भर्सेस वनको स्थिति सदुपयोग गर्न सकेनन् । यसपटक उनको पेनाल्टी क्षेत्र भित्रको प्रहार गोलरक्षक ममडुले बचाए । तर अर्को आक्रमणमा भने ममडु बिट भए ।

ओलावालेले दायाँ विंगमा हिजाजीको पासमा अफसाइड लाइन उत्कृष्ट ढंगले बिट गरे । त्यसपछि उनले पर्याप्त समय लिँदै अघि बढेका गोलरक्षकलाई बिट गर्न सफल भए ।

लिग अन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू