काठमाडौँ, मंसिर १४ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ ।
यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए।
यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।
उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन । इपिएसमार्फत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ ।
सो शाखाका निर्देशक सुवेदीले कोरियामा श्रमिकको चरम अभाव हुन थालेपछि आफ्ना नागरिक र दक्ष विदेशी श्रमिकका लागि आरक्षण गरिएका सेवा, निर्माण क्षेत्रमा नेपाली युवालाई समेत माग गर्न थालेको जानकारी दिए।
कोरियाले सेवा तथा उत्पादन क्षेत्रका विभिन्न उपक्षेत्रमा विदेशी श्रमिकलाई रोजगारी गर्न नपाउने कानुनी व्यवस्थालाई संशोधन गरेर रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका श्रमिकले समेत काम गर्न पाउने व्यवस्था गरेको छ । कोरियामा यसअघि ई–९ भिसावाहक विदेशी श्रमिकलाई ‘डी थ्री’ (डर्टी, डिफिकल्ट र डेन्जर) क्षेत्रमा मात्र काम गर्ने अवसर दिँदै आएकामा अब भने सेवा र अन्य क्षेत्रमा समेत काम गर्न पाउने छन् ।
नेपालबाट हाल कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा बर्सेनि १२ हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा इपिएसमार्फत लगभग २१ हजार श्रमिक दक्षिण कोरिया गएका थिए । सन् २०२४ का लागि एक लाख ६५ हजार कोटा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार विदेशी श्रमिक माग गर्ने भएको छ ।
ईपिएस अन्तर्गतका नेपालसहित १६ देशका लागि सो कोटा निर्धारण भएको हो । १६ देशमध्ये पनि नेपाली श्रमिक रुचाइएका कारण सो कोटा नेपालले ३० हजार पाउने इपिएस शाखाले जनाएको छ ।
आगामी वर्षका लागि तोकिएका एक लाख ६५ हजार आप्रवासी श्रमिकको सङ्ख्यामध्ये नयाँ नियमितका लागि एक लाख ४३ हजार ५३० जना तोकिएको छ । यस्तै २१ हजार ४६० जना प्रतिबद्ध (कमिटेड श्रमिक) लाई तोकिएको छ ।
निर्धारण गरिएको क्षेत्र अनुसारको कोटामध्ये उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा छ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको इपिएस शाखाले जनाएको छ ।
Published Date: 30 November 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1