चलचित्र भवनमा ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’

चलचित्र भवनमा ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ : Icon Khabar

काठमाडौँ, असाेज ११ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुवै चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ मा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसंख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

‘एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन’, उनले भने । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘नाङ्गो गाउँ’ मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । ‘हामीले नेतामात्र नभइ नेता छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ’, निर्देशक लामाले भने, ‘यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक ज्ञान र त्यसको प्रभाव, समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।’

उनले पहिलो सातामा चलचित्रले राम्रो व्यापार गरेको जानकारी दिए । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् ।
Published Date: 28 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास