आज भक्तपुरमा गुन्हीपुन्ही अर्थात जनैपूर्णिमा मनाइयो, ब्याचा जाः नक वानेगु पनि आजै

आज भक्तपुरमा गुन्हीपुन्ही अर्थात जनैपूर्णिमा मनाइयो, ब्याचा जाः नक वानेगु पनि आजै : Icon Khabar

भक्तपुर, भदौ १३ । भक्तपुरमा आज गुन्हीपुन्ही अर्थात जनैपूर्णिमा मनाइएको छ। पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न भए पछि भक्तपुर नगरपालिकाले तलेजुका पुजारीसँगको छलफलपछि भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

नेवार समुदायले गुन्हीपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् ।

क्वाटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरी गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाटी खाने प्रचलन रहेको छ।

ब्यांचा जा नकेगु अर्थात भ्यागुताको पूजा

आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको चाना र विशेष प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको छ ।

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts