भक्तपुरमा मौलिक बाजागाजा सिकाईमा युवा पुस्ताको आकर्षण बढ्दै

भक्तपुरमा मौलिक बाजागाजा सिकाईमा युवा पुस्ताको आकर्षण बढ्दै : Icon Khabar

भक्तपुर, भदौ ११ । भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ।

बाजा सिकिसकेपछि पहिलो पटक औपचारिक कार्यक्रम गरी बाजा प्रदर्शनी गर्ने चलन छ। त्यस अनुसार ३ महिना अघि धाँ बाजाबाट प्रशिक्षित त्वायना र बनमालाको समूह आइतबार भक्तपुरमा सार्वजनिक भयो।

सार्वजनिक भएको समूहले भक्तपुरको परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए। यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो।

२०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए।

पछिल्लो पटक धाँ बाजाप्रति आकर्षण बढेकोले धाँ बाजा प्रशिक्षण पनि थपेको उनको भनाई थियो। अहिले थप बाँसुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए। उनले यी सबै तालिम नि:शुल्क रुपमा चलाउँदै आएका छन्। बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता अनिवार्य हुनु पर्दछ।

पहिलेको समयमा धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता हुँदैनथ्यो तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ। विशेष गरी भक्तपुरमा बेलुकीको समयमा बाजागाजा सिकाइने प्रचलन रहेको छ। अहिले धिमे बाजा लगायत अरु बाजागाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको छ।

नयाँ पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको छ। नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गरेका छन्।

उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो। तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको सर्वविदितै छ।

केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको थियो। तर अहिले महिला पुरुष दुवैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरू सहभागिता हुने गरेको पाईन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2023
Website | + posts