प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने

प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने : Icon Khabar

काठमाडौं, भदौ ६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो ।

विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतमले जानकारी दिए। अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उहाँले जानकारी दिनुभयो ।

उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११ (१) मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको छ ।

त्यस्तै, विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website | + posts