मलमास: अधिमास: पुरुषाेत्तममास: कसरि सुरू भयो मत्स्यनारायण मेला ?

मलमास: अधिमास: पुरुषाेत्तममास: कसरि सुरू भयो मत्स्यनारायण मेला ? : Icon Khabar

काठमाडौँ, साउन १८ । नेपाली समाज तथा समस्त सनातनी समाज बीच दुईथरी पात्राे प्रचलनमा रहेकाे पाइन्छ। चन्द्रमास पात्राे र साैर्यमास पात्राे। हाम्राे सनातनी रीतिथिति, चाडपर्व, जात्रा आदि चन्द्रमास पात्राे निर्देशित छ। साथै साैर्यमास पात्राे पनि सँगसँगै गइरहेकाे हुन्छ।

३६५ दिन वा १२ महिनाकाे एक वर्षकाे गणना गर्दा दैनिकजसाे केही समय २४ घण्टाभन्दा बढी भइदिन्छ। त्यसरी बढी भएकाे समय जाेडिंदै जाँदा ३५ महिना र केही दिन अर्थात् करिव ३ वर्षमा एक पटक एक महिना बढी भइदिन्छ। यसरी शेष रहँदै गएका समय जाेडिंदै बनेकाे महिनाकाे नामनै भएन। त्यसका देवता पनि भएन।

हरेक महिनाका देेेवता हुन्छन्। जस्ताे कि मंसिर महिनाकाे देवताकाे नाम माधव हाे। बाह्रै महिना विष्णुमय( नारायणमय) छन्। पहिलाे महिना मंसिर महिना हुन्छ र अन्तिम कात्तिक। यहाँ शेष समय अर्थात् भाेग गरेर बाकि समय जाेडिंदै बनेकाे महिनालाई मलमास भनियाे। हेला गरी मल नाम दिइयाे।

बैशाखदेखि चैत्र नाम दिइएझैं कुनै किसिमकाे मान पाइएन मलमासले। याे मासभित्र आउने प्रतिपदादेखि पूर्णिमा,औंशी कुनैपनि तिथिमा देवताकाे बास भएन। जस्ताे कि चाैथी श्रीगणेश, अष्टमी भगवती, नवमी विष्णु आदिकाे पूजा हुने तिथि हुन्छन्। तर मलमासमा दिनगन्तीले आउने आउने बाहेक कुनै पूजा र अनुष्ठान नपाउने भयाे।

मानिसका मृत्युपछि गरिने पितृकार्य, मासिक जलअन्नदान, बच्चाकाे नामकरण संस्कार, भात खुवाइ( अन्नप्राशन) आदि मात्र हुनेभयाे। न जन्मदिन, न वार्षिक पुण्यतिथिमा पिण्डदान, न कुनै जात्रापर्व, व्रत अनुष्ठान, केही नहुने भयाे। यसरी कुनै महत्त्व नदिई तुच्छ व्यवहार पाइयाे भनेर मलमासले भगवान विष्णुकाेमा पुगेर “मलाई पनि अरु मासलाई जस्तै नाम चाहियाे, सम्मान चाहियाे” भनेर भन्छन्।

अनि भगवान विष्णु भन्नु हुन्छ,” हे मलमास तिम्राे गुनासाे जायज छ। तर याे समस्याकाे समाधान गर्ने सामर्थ्य मसित छैन। याे त उनै आदिशक्ति राधाकृष्णले मात्र गर्नसक्छ।” त्यसैले म तिमीलाई गाेलाेकधाम लिएर जान्छु भनेर गाेलाेक लैजान्छन् मलमासलाई। जब गाेलाेक पुग्छन् र दु:खी मलमासलाई देेखाएर श्रीकृष्ण विष्णुलाई साेध्नुहुन्छ कि हे विष्णु यिनी काे हुन्? किन दु:खी छन्। यहाँ जाेकाेेही आउँछन् खुशी हुन्छन्, याे किन दु:खी छन् ?

यति सुनेर विष्णले मलमासकाे सबै दु:ख पीडा पाेख्छन्। वृत्तान्त सुनेर कृष्णले भन्नुभयाे कि ” तिमीलाई साँच्चै अन्याय नै परेकाे रहेछ। तिमी यहाँ आयाै। यहाँ आउने जाेकाेही दु:खी हुन सक्दैनन् भन्छन्। तिमी निराश भई फर्कनु पर्दैन भनेर भन्नू हुन्छ श्रीकृष्ण।” मेराे धाममा आयाै। तिमी निराश नहाेऊ। मनै तिमी हाै, तिमी नै म। मलाई पुरुषाेत्तम भन्छन्। त्यसैले तिमी आजबाटै पुरुषाेत्तम भयाै। पुरुषाेत्तममास भयाै। तिमी अब यतै मेरै धाममा बस्नू” भनेर विष्णुलाई त्यहींबाट फर्काइदिन्छन्।

मत्स्यावतारदेखि कल्की अवतारसम्मकाे कुरा त आदिशक्तिकाे लीला मात्र रहेछ। द्वापर युगकाे कृष्ण र त्रेतायुगकाे श्रीराम त आदिशक्ति राधाकृष्णकाे लीला मात्र रहेछ। यसकाे प्रमाणकाे रुपमा वृहद् नारदीय पुराणकाे पुरुषाेत्तम महात्म्यकाे छैटाैं अध्यायमा विष्णुले मलमासलाई गाेकूलधाममा पु-याएपछि कृष्णलाई गरेकाे वन्दनालाई लिन सकिन्छ।

वन्दे कृष्ण गुणातीतं गाेविन्दमेकमक्षरम्।
अव्यक्तमव्ययमं व्यक्तं गाेपवेषविधायिनम्।।
किशाेरवयसं शान्तं गाेपिकान्तं मनाेहरम्।
नवीननीरदश्यामं काेटिकन्दर्पसुन्दरम्।।
वृन्दावननाsभ्यन्ते रासमण्डलसंस्थितम्।
लसत्पीतपटं साैम्यं त्रिभङ्गललिताssकृतिम्।।
रासेश्वरमं रासवासं रासाेल्लाससमुत्ससकम्।
द्विभुजं मुरलीहस्तं पीतवाससमच्युत्तम्।।
इत्येवमुक्त्वा तं नत्वा रत्न सपंहासने वरे।
पार्षदै: सत्कृताे विष्णु: स उवास तदाज्ञया।।

यसरी नाम पुरुषाेत्तममास भएपछि प्रतिपदादेखि पूर्णिमा,औंशीसम्मकै सबै तिथिहरु तिनै कृष्णकै भइदिए। आदिशक्तिले जस्तै धन, गाेधन, राम्रा असल कुरा दिनसक्ने भए पुरुषाेत्तममास। यहाँ वसुदाका वसु दिनसक्ने भए पुरुषाेत्तममास। वासुदेव त तिनै वसुदाका अंशमात्र भए।

पुरुषाेत्तममासमा आदिशक्ति राधाकृष्णकाे पूजा हुन्छ। वसुधा अर्थात् पृथ्वी समेत् अट्ने ब्रह्माण्ड नै दान गरेकाे रूपमा काँसकाे थालमा मालपुवा ३३ वटा राखेर फेरि अर्काे काँसकाे थालले छाेपी पीताम्वर कपडाले बेरेर फेरि पञ्चरङ्गीधागाेले बाँधेर सुनटुक्रा एक टुक्रा त्यसमाथि राखेर भगवान पुरुषाेत्तमका ३३ नामले पूजा गरी अर्घ दिएर ब्राह्मणलाई साे मालपुवा दान गरिन्छ र गाेदान गरी एक महिनाकाे उद्यापन गरिन्छ।

यस महिनाभरी ब्रह्मचर्यमा बस्न सुझाव दिइएकाे छ। ब्रह्माण्ड स्वरुपमा माथि उल्लेखित ३३ मालपुवा दान गरिने भएकाेले ब्रह्माण्डमा श्रृष्टीकाे सुरुवात माछाबाट भएकाेले मत्स्यनारायणमा मेला लाग्ने गर्दछ। अखण्डदीप र श्रीमद्भागवत पुराण पुस्तक दान गर्ने, विवाह भएकाे वर्षकाे श्रावण र पहिलाे आउने पुरुषाेत्तममास नवदम्पत्ती छुट्टिनु पर्छ भनेर छुट्टिएर बस्ने परम्परा चलिआएकाे छ।

हेला गरे फेेलाँ परिन्छ भनेझैं मलमासलाई हेला गरेपछि उनकाे निरन्तर प्रयासपछि उनले अरु महिनाले भन्दा धेरै मान सम्मान पाए। त्यसैले प्रयास जारी राख्नुपर्छ सफलताले पछ्याउँछ।

लेखक: धनेशराज राजाेपाध्याय
तिबुक्छें टाेल,भनपा-५, भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
3
+1
0
+1
0
Published Date: 03 August 2023
धनेशराज राजाेपाध्याय
+ posts