भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता

भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता : Icon Khabar

भक्तपुर, मंसिर ५ ।  “मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित स्थापना भएको भक्तपुर युवा टिम आगामी सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागी हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजना गरिने यो प्रतियोगितामा देशभरका ३९ टिममध्ये भक्तपुर युवा टिम पनि एक हो।

वि.सं. २०५० मा स्थापना भएको यो टिम विभिन्न खेलकुद आयोजनादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी, रेफ्री तथा अम्पायर उत्पादन गर्दै अघि बढ्दै आएको छ। यसअघि टिमले २०७८, २०७९ र २०८० सालमा क्रमशः तीन संस्करणको भक्तपुर कप महेश्वरी खेल मैदानमा सम्पन्न गरिसकेको छ।

यसपटक भने टिमले एन्फा स्तरीय प्रतियोगितामा औपचारिक रुपमा प्रवेश गर्दै नयाँ अनुभव सँगाल्ने तयारी गरेको अध्यक्ष केशव त्वानाबासुले बताए। उनका अनुसार टिमका खेलाडीहरू लामो समयदेखि तालिममा व्यस्त रहेका कारण राम्रो प्रदर्शन हुने अपेक्षा गरिएको छ।

जर्सी सार्वजनिक कार्यक्रममा संस्थापक अध्यक्ष विश्वराम कवां, सल्लाहकार तथा भक्तपुर नगरपालिका–७ का वडा अध्यक्ष उकेश कवां र टिम अध्यक्ष केशव त्वानाबासुले संयुक्त रूपमा जर्सी विमोचन गरेका हुन्। सो अवसरमा सहभागी खेलाडीहरूलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो।

खेलकुदमार्फत युवालाई अनुशासन, मित्रता र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उद्देश्य रहेको टिमले विगतमा पाएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विभिन्न निकाय, सञ्चारमाध्यम, विद्यालय, उद्योग–व्यवसाय तथा शुभचिन्तकहरूले निरन्तर साथ दिने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2025
Website | + posts