हजूरलाई थाहा छ,नवरात्रि कतिवटा छन्?
मलाई थाहा छ, हजूरकाे उत्तर- एक।तर हाेइन रहेछ।नवरात्रि चार वटा हुँदा रहेछन्।विभिन्न सन्दर्भ सामग्री अध्ययनका क्रमबाट जानकारी भयाे । चैत्र नवरात्रि र शारदीय नवरात्रिका बारेमा धेरैलाई जानकारी छ । किनकि चैत्रदशैं र शारदीय दशैं( असाेज महिनाकाे) हामी सनातनीहरुले मनाउँदै आएकाछाैं।अन्य दुु नवरात्रि पनि छन्।ती हुन्- असार शुक्ल प्रतिपदादेेखि नवमीसम्म , माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म । चारै नवरात्रिहरु शुक्लप्रतिपदादेखि नवमीसम्म नै हुन्छन् । रात्रि जाेडिएकाेबाटै थाहा लाग्छन् कि याे रात्रिकाे समयमा पूजा अर्चना गरिने पर्व हाे । त्यसैले याे पूजा गुप्त प्रकारकाे हुन्छ । र त यसलाई गुप्त नवरात्रि पनि भनिन्छन् । यी नवरात्रहरुमा प्रतिपदा तिथिमा घटस्थापना गर्नेदेखि नवमीसम्म हरेकदिन शक्ति स्वरुपिणी देवीहरुकाे उपासना गरिन्छन् । गुप्तपूजाहरु प्राय: तन्त्रप्रधान हुन्छन्।यसै सिलसिलामा माघ महिनाकाे नवरात्रि अन्तर्गत पाँचाैंदिन विद्या प्राप्ति,वाक्कला निपुणता र प्रसिध्दि हेतु देवी सरस्वतीकाे पूजा अर्चना गरिन्छन् । श्री एकाक्षरी शब्द हाे जसले लक्ष्मीकाे पर्याय तथा विविध शक्तिकाे पर्यायकाे रुप पनि जनाउँछ । त्यसैले उनै विद्याकी अधिस्थात्री देवीकाे दिवस माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनी सरस्वती दिवसकाे रुपमा मनाइँदै आइरहेकाछाैं हामी ॐकार परिवारका अनुयायीहरुबाट।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं कराेतु मे।।१।।
प्रथमं भारती नाम द्वितीय च सरस्वती।
तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव काैमारी अष्टमं वरदायिनी ।।३।।
नवमं बुध्दिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं य: पठेन्नर: ।
जिह्वाग्रे वसति तस्य ब्रह्मरुपा सरस्वती।।५।।
सरस्वतीकाे लक्षणकाे कुरा गर्नु पर्दा,श्वेत वस्त्र धारण गरेकी,गाेराे वर्णकी,सदा मुस्कुराइरहने,सर्वाेत्तम रत्नद्वारा निर्मित आभुषणले सुशाेभित भएकी,एक हातमा विणा,एकहातमा पुस्तक, एकमा स्फटिक माला लिएकी र एकहात अभय मुद्रामा रहेकी चारहात भएकी राजहाँसमा सवार भएकी देवी सरस्वतीलाई नमन गर्दै असल विद्या र मधुर वाणी र प्रसिध्दि प्राप्तिकाे लागि उपासना गरिन्छन् र तल्लिन भएर मेहनत गरिन्छ।
यसै दिनलाई स्थानीय बाैध्द धर्मावलम्वीहरुले महामञ्जुश्रीकाे रुपमा पूजाअर्चना गर्छन् । भक्तपुर सुडाल स्थित थाकलमाथमा अवस्थित “ल्हासपा ससुद्य” लाई मञ्जुश्रीकाे रुपमा मान्छन् । ल्हासादेखि हिंडेर आएकी सरस्वती भएकीले थाँके हाेलान् भनेर भक्तपुर( ख्वप) तिर स्थानीय सरस्वतीकाे मन्दिरहरुमा र घर-घरमा सरस्वतीका ढुंगेमूर्ति हुनेकामा साँझ तेल लगाइदिने प्रचलन अद्यावधि छ।शिक्षक,विद्यार्थी,कालिगढ,कलाकार,आदिले पुस्तक,कलम,वाद्ययन्त्रहरु र ज्यावल र आैजारहरु पूजा गर्छन् । पूजामा विशेष गरी चढाइएका अक्षताबाट पाँच दाना अक्षता प्रसादकाे रुपमा हातमा लिई दाँतमा नछुने गरी मुखमा राखी निलिन्छ । अक्षता त क्षति नभएकाे चामल । नक्षत= अक्षत । सिकाइ पनि अक्षता जस्तै हाेस् भनी क्षति नभएकाे वरप्रसाद अक्षता कुपुक्क निल्ने । सिकाइ पूर्णताकाे अभिष्ट बाेकेकाे श्रीपञ्चमी पर्वकाे महिमा यस्तै छ ।
वसन्त पञ्चमी
श्रीपञ्चमीकाे दिन वसन्त श्रवण गर्ने चलन छ।शिशिर ऋतुमा पर्ने याे पर्वमा वसन्त ऋतुकाे आगमनलाई स्वागत गर्न वसन्त राग गाइन्छ र श्रवण गरिन्छ। अब चिसाे माैसम सकिन लाग्याे वषन्तकाे आगमन हुु लाग्याे भनेर राग वसन्त र ध्रुपद रागमा आधारित विभिन्न दाफा संगीत,भजन र गीतहरु पनि गाइन थाल्छन् श्रीपञ्चमीकै दिनदेखि।हनुमानढाेका दरवार काठमाडौंमा वर्षेनी साे दिन राजाकाे सवारी भई वसन्त श्रवण गर्ने चलन थियाे । त्यसैले पनि वसन्त पञ्चमी पनि भनिएकाे हाे।
अक्षरारम्भ
म छ वर्षकाे थिएँ आमाले सिलेट र खरीढुंगाकाे टुक्रा ल्याइदिनु भयाे । हात समाउँदै लेखाउन थाल्नुभाे । ॐ नम: शिवाय।नमाे वागीश्वराय।स्वर वर्ण र व्यञ्जन वर्ण लेख्नका निम्ति त्याे आधार अक्षर बराबर भए मेरा लागि । तर मैले सम्झेसम्म लेख्न सिकेकाे पहिलाे अक्षर त ‘ज’ थियाे । घरकाे चाेतामा दलिन जाेडेरै काठकाे सिलेट ( नेवारभाषामा ग्वर:) मा “जय शारदा” लेखिरखेकाे हुन्थ्याे । त्यही ‘जय शारदा’काे ‘ज’ पहिलाे अक्षर बन्न पुग्याे त्याे छ वर्षे ठिटाेले लेखेकाे जीवनमा लेख्न सिकेकाे । अनि त ‘ज’बाट अ र आ ।अनि बिस्तारै अरु अक्षरहरु लेख्न थालें खुशि हुँदै ।
पिताजी रामशक्तिराज र उहाँका समकक्षी साथीहरु मिलेर विद्यार्थी निकेतन स्कुल स्थापना गर्नु भएकाे थियाे।पिताजी विद्यार्थी निकेतन स्कुलकाे संस्थापक शिक्षकहरस मध्ये एक हुनुहुन्थ्याे । तात्कालिन अवस्थामा स्कुल खाेल्नु अपराध थियाे । भारतमा अँग्रे्ज विरुध्द भारत छाेड आन्दोलन चर्किरहेकाे थियाे । सुवासचन्द्र बाेसकाे जय हिन्द,जय हिन्द लयात्मक नारा जस्तै पिताजीका साथीहरु भेट हुँदा “जय शारदा” भनेर अभिवादन गर्नु हुन्थ्याे रे पिताजीले भन्नु भएकाे । त्यस उसले मेरा अक्षरारम्भका गुरु जननी नै हुन् र वेदविद्या गरु पिताजी नै हुनुभयाे । वागदेवीलाई आत्मसात गरेकै कारण ध्वनि तरङ्गकाे आकाशमा आफ्नाे आवाजलाई बुलन्द गर्न पाएँ । हे वागीश्वरी काेटीकाेटी नमन।
आयुर्वेदमा कुनै ओखतीलाई रसायन बनाउने क्रममा गरिने विधिलाई संस्कार भनिएकाे छ । जसरी प्राकृतिक खानीबाट फलाम,चाँदी,सुन आदि कच्चा धातुलाई अग्नि र अन्य उपकरण वा साधनका मद्दतले शुध्द र गुणस्तरीय बनाइन्छ त्यसैगरी आमाकाे गर्भबाट पशुवत् जन्मिएकाे मानव-शिशुलाई शिक्षादीक्षा,सत्सङ्ग,सद्भाव,वातावरण,परिवेश र सुझबुझ आदि कुराले सुसभ्य र सुसंस्कृत मानिस बनाइन्छ।त्यस्ता संस्कारहरु साेह्रवटा रहेका छन् । ती मध्ये अक्षरारम्भ संस्कार पनि पर्दछन्।सन्तान जन्माएर मात्र बाबुआमाकाे र अभिभावककाे कर्तव्य पूरा हुँदैन । खाना,नाना र छानाकाे साथमा शिक्षादीक्षा दिने प्रबन्ध पनि मिलाउन सक्नुपर्दछ । त्यसैले चाणक्य नीतिमा भनिऐकाे छ-
“माता शत्रु पिता वैरी येन वालाे न पाठित।
न शाेभते सभामध्ये हंसमध्ये बकाे यथा।।
जुन आमाबाबुले छाेराछाेरीलाई पढाएनन् ती आामाबाबु शत्रु हुन्।हाँसका बथानमा बकुल्लाे नसुहाए झैं अनपढ छाेराछाेरी विद्वानकाे सभामा सुहाउँदैनन्। त्यसैले शिक्षादीक्षा दिलाउनु आमाबाबुकाे कर्तब्य हाे।अक्षरारम्भका प्रसङ्गमा एउटा राेचक कुरा के छ भने,”बालबालिकाकाे दाहिने हात टाउका माथिबाट घुमाएर आफ्नाे देब्रे कान छुन सक्ने भएपछि अक्षरारम्भ गर्ने उचित समय हुन्छ।याे क्षमता पाँच वर्षकाे उमेरमा हुन्छ।अझ छाेरी बच्चाकाे चार वर्षमै त्याे क्षमता हुनसक्छ।
लालयेत पञ्च वर्षाणि,ताडयेत् दस वर्षाणि।
प्राप्ते तु षाेडशे वर्षे पुत्रं मित्र वदाचरेत्।।
सन्तान पाँच वर्षकाे आयुसम्म बडाे प्याराे गरी अनि दश वर्षसम्म हप्कीडप्की सहित हुर्काउनु पर्छ भने जब साेह्रवर्षकाे हुन्छ बाबुआमाले सन्तानलाई मित्रवत् व्यवहार गर्नु पर्दछ।
यसबाट पनि थाहा हुन्छ कि पाँचवर्ष नाघेपछि शिक्षारम्भ गराउनु पर्दछ भनेर। अक्षरारम्भ गर्ने सम्पूर्ण मुनाहरुमा सरस्वती दिवसकाे हार्दिक मङ्गलमय शुभकामना छ।
विश्राम गर्दै-
विद्यया लुप्यते पापं विद्ययाSSयु: प्रवर्धते।
विद्यया सर्वसिध्दि:स्याद्विद्ययाSमृतमश्नुते।।
अर्थात् विद्या अध्ययन गर्नाले पाप नाश हुन्छ,विद्याले आयु बढ्छ।विद्याद्वारा सबै सिध्दि प्राप्त गर्न सकिन्छ र विद्याद्वारा अमृत चाख्न पाइन्छ।अस्तु।
लेखक:
तिबुक्छें टाेल,भनपा-५, भक्तपुर।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Published Date: 26 January 2023
सम्बन्धित समाचार