सारुक मृत्यु प्रकरण : निकटस्थहरुलाई प्रहरीले बयानका लागि बोलायो

सारुक मृत्यु प्रकरण : निकटस्थहरुलाई प्रहरीले बयानका लागि बोलायो : Icon Khabar

काठमाडौं, श्रावण २ । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले उनका निकटस्थहरुलाई सोधपुछका लागि बोलाएको छ । सारुकले पछिल्लो समय काम गरिरहेको ‘ह्यासट्याग माया’ सँग सम्बन्धित व्यक्तिहरुलाई प्रहरीले बोलाएको हो ।

सोमबार निर्देशक र निर्माता राजीव गुरूङलाई सोधपुछका लागि बोलाइएको स्रोतले जानकारी दिएको छ । फिल्मका कलाकारलाई पनि बोलाउने तयारी प्रहरीको छ । यो फिल्ममा नायिका नम्रता श्रेष्ठले पनि काम गरिरहेकी थिइन् ।

ह्यासट्याग मायाका लागि बुढानिलकण्ठमा भाडामा लिइएको घरमा नम्रता, सारुकसहित फिल्मसँग आबद्ध अन्य व्यक्तिहरु बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । असारको तेस्रो साता सारुक फिल्म सुटिङबाट फर्किएपछि कालोपुलस्थित आफ्नै घरमा असार २१ गते झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कोठामा कसैको प्रवेश भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृत भने, ‘उनको शवलाई निकालेर घरमा सर्च गर्‍यौं, त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’ घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’ मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

हालै परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालिगाउँमा जाहेरी दिएको छ । योबीचमा छानबिनले आत्महत्या बाहेक अन्य कुनै कारण नदेखाएको ती अधिकृत बताउँछन् । ‘आत्महत्यामा कुनै डाउट नभएपछि हाम्रो टोली पनि त्यहाँ खटिएन’, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘सुसाइड नोट नभेटिएकाले मृत्युको कारण चाहिँ अन्यौलमा रह्यो ।’ यसैबीच केहि कलाकारहरुले ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2023
Website | + posts