भक्तपुरमा ‘कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज’ को तेस्रो संस्करण सम्पन्न

भक्तपुरमा ‘कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज’ को तेस्रो संस्करण सम्पन्न : Icon Khabar

भक्तपुर, असार ३० । भक्तपुरमा आज ‘कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज–२०२३’ सम्पन्न भएको छ ।

आज भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरवार स्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गरेका थिए ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउँदै आएको गोसाईंले बताए । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनाका साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उनले चर्चा गरे ।

संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यस वर्ष कार्यक्रममा छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताए । उनले भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

भक्तपुर तथा काभ्रेपलाञ्चोकका अधिकांश पर्यटकीय क्षेत्रको सौन्दर्यलाई नियाल्दै दुई हजार एक सय मिटर उचाइसम्म एक सय किलोमिटरको यात्रा आज एकै दिनमा सक्ने बालाले बताए । उनका अनुसार बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै चाँगुनारायणसम्म पुगेको थियो।

सो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा पुगेर आज साँझ समापन भएको थियो।

साइकल कनेक्टकी अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलरासी, बुटवललगायत सहरबाट साइकल यात्रामा सहभागी भएको बताईन्।

उनका अनुसार यात्रामा अमेरिका र युरोपियन राष्ट्रका विदेशी साइकल यात्री समेत सहभागी भएका थिए। आज साँझ समापन कार्यक्रममा तीन वटै रुटअन्तर्गतको च्यालेन्ज पूरा गर्ने सहभागीलाई मेडल वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2023
Website | + posts