मङ्कीपक्स कस्तो भाइरस हो? सङ्क्रमणबाट कसरी बच्ने?

मङ्कीपक्स कस्तो भाइरस हो? सङ्क्रमणबाट कसरी बच्ने? : Icon Khabar

काठमाडौँ, असार ४ । गत केहि दिन अघि नेपालमा पहिलो पटक एकजना विदेशी महिलामा मङ्कीपक्स सङ्क्रमणको पुष्टि भएसँगै उक्त रोगबाट बच्न सतर्कता अपनाउन अधिकारीहरूले आह्वान गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक जना ६० वर्षे महिलामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

मङ्कीपक्स कस्तो भाइरस हो?

मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ। यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्। यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्ण तटीय वर्षा वननजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ।

त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुई वटा प्रकार छन्। अफ्रिकाबाट नै यो भाइरस अन्यत्र फैलिएको बताइने गरेको छ।गत वर्ष युरोपमा यसको सङ्क्रमण देखिएपछि यो भाइरसबारे अलि व्यापक रूपमा चर्चा हुन थालेको हो। नेपालको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म १११ देशमा यो भाइरस देखिइसकेको छ।

यद्यपि हालसम्म यो सङ्क्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपत्कालको अवस्थामा छैन।

लक्षणहरू के हुन्?

एकजना सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।

  • एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।
  • त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुन सक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।
  • सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।

सङ्क्रमण कसरी हुन्छ?

  • सङ्क्रमित व्यक्ति वा जनावरको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्नसक्छ।
  • फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
  • यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन।
  • तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ।
  • त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ।

सङ्क्रमणबाट कसरी बच्ने?

स्वास्थ्य मन्त्रालयले मङ्कीपक्सको सङ्क्रमणबाट बच्नका लागि सङ्क्रमणको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा छुट्टै राख्ने सुझाव दिएको छ।

त्यस्तै सङ्क्रमितको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, ओछ्यान र भाँडा तातोपानी वा साबुन पानीले धुने गर्नुपर्ने मन्त्रालयको सुझाव छ।

मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा नि:सङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने जस्ता कार्य गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पतालहरूमा पनि मङ्कीपक्सका लागि चिकित्सकहरू तोकिसकेकाले आवश्यक परे उनीहरूसँग परामर्श गर्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts