भक्तपुरको यातायात कार्यालयको ‘सर्भर डाउन’ ले सेवाग्राहीलाइ सास्ती नै सास्ती

भक्तपुरको यातायात कार्यालयको ‘सर्भर डाउन’ ले सेवाग्राहीलाइ सास्ती नै सास्ती : Icon Khabar

भक्तपुर, पुष २०। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको वडा नं ७ राधे राधेमा रहेको यातायात व्यवस्था कार्यालयमा (ड्राइभिङ लाइसेन्सका लागि) सेवाग्राहीको लाम लाग्ने दैनिकी छ ।
वाग्मती प्रदेशका १३ जिल्लाका सेवाग्राही नयाँ लाइसेन्स, लाइसेन्स नविकरण, लाइसेन्सको परीक्षण परीक्षा लिन लगायतका कामका लागि बिहान ६ बजेदेखि कार्यालयमा भिड लागेका छन् भने थोरै संख्यामा सेवा दिने कर्मचारीबाट सेवा लिन पर्खिरहेका छन् ।

तीमध्ये एक सिन्धुपाल्चोककी रुपा खड्काले आफू लगातार दुई दिन बिहान ६ बजेदेखि कार्यालयमा लाइनमा बसेको बताइन् । कार्यालयले ‘सर्भर डाउन’ भन्दै सूचना जारी गरेपछि खड्का जस्ता सेवाग्राही आन्दोलनमा उत्रिएका हुन् । प्राविधिक कारणले कार्यालयमा सेवा प्रवाह रोकिएको थियो । एउटै सेवाका लागि चार ठाउँमा लाइनमा बस्नुपर्ने र एउटै झ्यालबाट सबै सेवा लिन नसक्ने आक्रोश खड्काले बताइन् । “सरकारले हामीलाई सजिलो र सुविधाजनक सेवा कहिले दिन्छ?”, उनले सोधिन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक सेवा र सार्वजनिक सरोकारका विषयलाई छिटो र प्रभावकारी बनाउनेलगायतका विषयमा सरकारका मन्त्रालय र मातहतका निकायलाई ३० बुँदे निर्देशन जारी गरेपछि यो निराशा देखिएको हो । । ३० बुँदेमध्ये एउटाले सवारी चालक अनुमतिपत्र, राहदानी, स्वास्थ्य, शिक्षालगायतका आधारभूत सेवामा पहुँच पुर्‍याउन सर्वसाधारणले भोग्नुपरेको कठिनाइलाई तत्काल हटाउन प्राथमिकतामा राखेको थियो ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को पहिलो बैठकमा राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका सेवाका लागि सेवाग्राहीलाई लाइनमा बस्न झन्झट नपरोस् भन्ने व्यवस्था मिलाउने निर्णय पनि गरेका थिए । सरकार प्रमुखले पदभार ग्रहण गरेपछि सार्वजनिक सेवा प्रवाहमा सकारात्मक हस्तक्षेप गरे पनि ती सार्वजनिक कार्यालयका समस्या यथावत छन् ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले दैनिक औसत १ हजार ५ सय सेवा प्रवाह गरिरहेको कार्यालयका प्रमुख शिवकुमार निरौलाले जानकारी दिए । सर्भर डाउनले यहाँ मात्र नभई हिजो र आज पनि सानो भर्याङ, सुकेधारा, गुर्जुधारालगायतका यातायात कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ ।

मुलुकका सातवटै प्रदेशका सबै यातायात व्यवस्थापन कार्यालयमा सञ्चालित सर्भर संघीय सरकारअन्तर्गतको यातायात व्यवस्था विभागको नियन्त्रणमा रहेको छ । यातायात व्यवस्था विभागको कमजोरीका कारण सेवाग्राहीका साथै धेरै प्रदेशका यातायात व्यवस्था कार्यालयका प्रमुखले सेवाग्राहीको गुनासो बारम्बार उठाउँदै आएको गुनासो गर्दै आएका छन् । –रासस

Published Date: 04 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु