बालबालिकाको भोजन योजना गर्दा ध्यान दिनुपर्ने कुराहरु

बालबालिकाको भोजन योजना गर्दा ध्यान दिनुपर्ने कुराहरु : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । स्कुल जाने बालबालिकाका अभिभावक विशेषतः आमाहरुको प्रायः सधैँ एउटै गुनासो सुनिन्छ–‘भोलि बच्चाको टिफिनमा खाजा के पठाउने ?’आफूले हतार–हतार खाजा बनाएर टिफिन पठायो तर बच्चाले केही नखाई फर्काउँछ भन्ने कुरा आमाहरुबाट सुन्नमा आउँछ ।

आजको व्यस्त समाजमा बालबालिकाको टिफिनमा के पठाउने भन्ने कुरा अभिभावकका लागि चुनौतीको विषय बनेको छ । यसले गर्दा धेरैजसो अभिभावक बच्चाको स्कुलबाटै खाजा उपलब्ध गराएमा टिफिनको झन्झट नहुने बताउँछन् । उनीहरु खाजा उपलब्ध गराउने स्कुल खोजेर आफ्ना बालबालिकालाई भर्ना गर्छन् । यसै गरी समयको अभाव र बच्चाको चाहना अनुरुप टिफिनको नाममा तयारी खाद्यपदार्थले प्रश्रय पाउने हुन्छ ।

अर्कोतिर बच्चालाई टिफिनको लागि पैसा दिई पठाउने र स्कुलको क्यान्टिनमा उपलब्ध खानेकुरा खाँदा टिफिनको झन्झट नहुने पनि अभिभावकहरु बताउँछन् । यसबाहेक हल्काफुल्का तयारी खाद्य पदार्थ टिफिनमा खाँदा केही फरक नपर्ने, किनकि बच्चाहरु घरमा आएर राम्ररी खाइ हाल्छन् भन्ने सोच राख्ने अभिभावकहरु पनि छन् । तर बालबालिकाले कुनै पनि समयमा खानेखाने कुरा स्वस्थकर र पोषिलो हुनु जरुरी छ ।

बालबालिकाको वृद्धि–विकासमा उनीहरुले खाने दैनिक खानाले ठूलो प्रभाव पारेको हुन्छ।त्यसैले बालबालिकाको भोजन योजना गर्दा अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ।

– उनीहरुले खाने मुख्य खानामा ५ खाद्यस मूहमध्ये सकेसम्म ३ समूहबाट उचित परिमाण र प्रकारमा खाद्य पदार्थ समावेश गर्नुपर्छ ।

– स्कुलमा पठाउने खाजामा विविधता र खाद्य पदार्थको रंग पनि फरक–फरक भएमा बालबालिका बढी आकर्षित हुन्छन् ।

– विभिन्न प्रकारका खाद्य पदार्थ टिफिनमा पठाउँदा बच्चाले कति खान सक्छ, सो कुरामा पनि ध्यानदिन जरुरी हुन्छ ।

– भोजनको योजना गर्दा खानाखाने समय पनि व्यवस्थित गर्न सके बालबालिकाले आरामपूर्वक खानाखान सक्छन् ।

– बालबालिकालाई दिने खाना पोषिलो र स्वास्थ्यवद्र्धक हुनुको साथै ठिक्कको टुक्रा हुनुपर्छ । काँक्रो, गाजार, आलु, स्याउ जस्ता फलफूल लामो आकारमा दिँदा बेस हुन्छ भने माछा–मासु मसिनो तथा नरम गरी पकाएर दिन सकिन्छ ।

– स्कुलको खाजामा तयारी खाद्य पदार्थ, फ्राइ गरेको, गुलियो खाद्य पदार्थ प्रयोग नगर्दा बेस हुन्छ ।

– घरमा खाने खानेकुरा बाहेक टिफिनमा पठाउने खाजा फरक–फरक भएमा बढी उपयुक्त हून्छ ।

– खान इच्छा नलागेको समयमा अभिभावकले गाली गरी जबर्जस्ती खुवाउने, खाँदाखेरि एक–अर्कोसित प्रतिस्पर्धा गराई खानदिन जस्ता कार्य गर्नुहुँदैन ।

– अभिभावकले पोषिलो खानेकुरा आफ्नो भोजनमा समावेश गरी देखाउनुपर्छ, जसले गर्दा उनीहरुमा त्यस खानाप्रति रुचि जगाउँछ।

– स्कुलमा बालबालिकाहरुले टिफिन खाँदा मिलेर सँगै खाने हुनाले हरेक अभिभावकले आ–आफ्ना बच्चाको खाजामा पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य पदार्थ समावेश गर्न जरुरी हुन्छ । यसबाट उनीहरुले आवश्यक पौष्टिक तत्वमात्र प्राप्त नगरी सानैदेखि उचित खानाखाने बानीको पनि विकास हुन्छ ।

– अभिभावकले स्कुलमा हप्तैभरि दिने खानाको मेनुबारे जानकारी राख्न सकेमा स्कुलको मेनुमा नभएका खाद्य पदार्थ घरको खानामा समावेश गरी उनीहरुको आवश्यकता पूरा गर्न सकिन्छ ।

यस प्रकार बालबालिकाको भोजनको योजना गर्दा खाद्य पदार्थको पौष्टिकता, उनीहरुको रुचि र आवश्यकतालाई ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।सानैदेखि उनीहरुमा असल खानाखाने बानी र खानाप्रति राम्रो धारणा विकास गर्न सकेमा यसको प्रभाव पछिको जीवनसम्म सकारात्मक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2023
Website | + posts