भारतको केरलामा पर्यटकहरू चढेको डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु

भारतको केरलामा पर्यटकहरू चढेको डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, वैशाख २५ । भारतको दक्षिणी राज्य केरलामा पर्यटकहरू चढेको एउटा दुईतले डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आइतवार साँझ दुर्घटनाग्रस्त उक्त डुङ्गालाई हिलोयुक्त पानीबाट बाहिर निकालिएको छ। दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै यात्रुहरू डुङ्गामुनि फसेका थिए भने राति अँध्यारोका कारण उद्धारकार्य अवरुद्ध भएको थियो। ज्यान गुमाउनेहरूमा महिला र बालबालिका पनि छन्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन्।

केरलाका मुख्यमन्त्री विजय पिनारईले स्थानीय प्रशासनलाई तीव्र गतिमा उद्धारकार्य गर्न निर्देशन दिइएको र त्यसको निगरानी क्याबिनेट मन्त्रीहरूले गरिरहेको बताएका छन्।

मलप्पुरम जिल्लाको तनुर क्षेत्रमा अवस्थित तूवलतीरम समुद्री तटनजिकै एउटा नदीमुखमा आइतवार सो दुर्घटना भएको थियो। डुङ्गा पल्टिँदा त्यसमा ५० जना भएको बताइएको छ।

पर्यटकहरू डुङ्गा चढेर समुद्रमा विहार गर्न जान्छन्। उक्त डुङ्गामा पनि पर्यटकहरू थिए। मलप्पुरम जिल्लाका प्रहरी अधिकारी अब्दुल नजारले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उक्त डुङ्गामा क्षमताभन्दा बढी मानिस थिए।

डुङ्गा पल्टिनुको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts