पर्यटन बोर्डद्धारा अप्रिल १ देखि लागु हुने गरी ‘एफआइटी’ बन्द

विदेशी पर्यटक पदयात्रामा जादाँ अनिवार्य गाइड राख्नु पर्ने

पर्यटन बोर्डद्धारा अप्रिल १ देखि लागु हुने गरी ‘एफआइटी’ बन्द : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको छ । यो व्यवस्था संगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ । बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो ।

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ । नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेकोले उक्त निर्णय गरेको हो ।

यस विषयमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए । उनले भने – ‘यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई सुरक्षित पर्यटकीय गन्तब्य बनाउन पर्छ भन्ने नै थियो । विभागिय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतीमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको छ । यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्ने छ ।’

डा. रेग्मीले यो निर्णय संगै नेपालमा ट्रेकिङ गार्डडहरूको रोजगारी साथै आय समेत बढ्ने बताए । पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालमा ट्रेकिङ्ग गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा रहेको समेत बताए ।

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाहारारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने समेत बताए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ ।

सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिए । यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स,संस्कृति , पुरातात्त्विक , कार्गो कुरियर युनियन (युनिट्राभ) लगायतका संस्थाले लामो समय देखि आवाज उठाउदै आएका थिए । बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सहि कार्यन्वयन हुनुपर्ने युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts