एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन सोमबार एउटा मात्र खेल भएकोमा आजदेखि दैनिक दुई खेल सञ्चालन हुनेछन्।

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ।

चितवन र विराटनगरबीच प्रतिस्पर्धा

पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सले कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजको सामना गर्नेछ।

विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायत नेपाली खेलाडी छन्। विदेशी खेलाडीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंकासहित अन्य खेलाडीले टोलीलाई बलियो बनाएका छन्।

यता, चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, विवेक यादव, विपिन रावललगायत खेलाडी रहेका छन्। विदेशी खेलाडीका रूपमा रवि बोपारा, सिकन्दर राजा, हसन अली र उसामा मीरसहितका खेलाडी टोलीमा छन्।

दुवै टोलीमा अनुभवी स्वदेशी तथा विदेशी खेलाडी रहेकाले पहिलो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

जनकपुर र कर्णालीबीच साँझको भिडन्त

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। खेल साँझ ५ बजे सुरु हुनेछ।

हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समा कुशल परेरा, ललित राजवंशी, अनिल साह, विकास आग्री, आदित्य मेहतालगायत खेलाडी छन्। विदेशी खेलाडीमा जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदजस्ता चर्चित नाम समावेश छन्।

त्यस्तै, सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, शुभ कंसाकार, सूर्य तामाङ र अन्य खेलाडी रहेका छन्।

दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो प्रभाव जमाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

मङ्सिर ५ गते फाइनल

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मङ्सिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ।

मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ भने मङ्सिर ३ गते दोस्रो क्वालिफायर खेल सञ्चालन हुनेछ। दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।

Published Date: 27 October 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक