भक्तपुर, असोज १८ । उर्वरभूमि कृषि सहकारी संस्था लिमिटेड, भक्तपुरको ११औँ वार्षिक साधारण सभा असोज १७ गते सम्पन्न भएको छ। साधारण सभामा संस्थाको विगतको कार्यप्रगति, वर्तमान अवस्था तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।
सभाका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ संस्थापक सदस्य रणबहादुर छुस्याकीले सहकारी संस्थाहरूले व्यवहारिक र प्रभावकारी रूपमा काम गर्न सके मात्र समुदाय तथा समाजका नागरिकलाई सेवा प्रदान गर्न सकिने बताए। सहकारीले नाफालाई मात्र प्राथमिकता नदिई सामाजिक सेवामा समेत जोड दिनुपर्ने उल्लेख गर्दै उनले सामूहिक हितका लागि सहकारी संस्थाहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा सहकारीकर्मी दिनेश ग्वाछाले सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथ्य तथा तथ्याङ्क प्रस्तुत गर्दै मुलुकमा देखिएको आर्थिक संकटले सहकारी क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिए। उनले विभिन्न सरकारी निकायबाट जारी नीति तथा निर्देशनका कारण सहकारी संस्थाहरूले भोगिरहेका नीतिगत तथा प्राविधिक समस्याबारे समेत चर्चा गरे।
संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न साधारण सभामा उपाध्यक्ष नारायणप्रसाद मचामसी, सचिव सुन्दर ग्वाछा, कोषाध्यक्ष केशव हाकुदुवाल, लेखा संयोजक नारायणसुन्दर शिल्पकार तथा मुना लवजूले संस्थाको गतिविधि, वर्तमान अवस्था तथा आगामी योजनाका विषयमा धारणा राखे।
साधारण सभामा संस्थाको हालसम्मको कार्यप्रगतिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो। साथै, संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सदस्यको आर्थिक हितलाई प्राथमिकता दिने तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो।
Published Date: 04 October 2026