भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न

भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ ३१ । व्यस्त दैनिकीबाट केही समय अलग हुँदै सिर्जनात्मक गतिविधिमार्फत आफूलाई अभिव्यक्त गर्ने उद्देश्यले ग्लोबल गुरुकुल एजुकेशन फाउन्डेसनले भक्तपुरमै पहिलोपटक ‘सिप एण्ड पेन्ट आर्ट वर्कशप’ आयोजना गरेको छ।

भक्तपुरको जगातीस्थित डाक्टर जिम फेज–२ मा भाद्र २७ गते आयोजित कार्यशालामा विभिन्न उमेर र पृष्ठभूमिका २२ जना सहभागी भएका थिए। रंग, क्यानभास, संगीत र आपसी संवादले भरिएको कार्यशालाले सहभागीलाई चित्रकलामार्फत आफ्ना सिर्जनात्मक सोच र भावनालाई व्यक्त गर्ने अवसर प्रदान गरेको थियो।

कार्यशाला केवल चित्र बनाउने गतिविधिमा सीमित नरही सहभागीलाई केही समय नियमित व्यस्तताबाट बाहिर निस्केर आराम गर्ने, आपसमा जोडिने र आफ्नै हातले केही सिर्जना गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

पछिल्लो समय बालबालिकादेखि वयस्कसम्म मोबाइल तथा विभिन्न डिजिटल उपकरणमा बिताउने स्क्रिन टाइम बढ्दै गएको अवस्थामा यस्ता सिर्जनात्मक गतिविधिले केही समय स्क्रिनबाट टाढा रही क्यानभास, रंगलगायतका सामग्रीसँग प्रत्यक्ष रूपमा जोडिन र आफ्नो सिर्जनशीलतालाई उजागर गर्न अवसर प्रदान गर्ने फाउन्डेसनको भनाइ छ। ‘सिप एण्ड पेन्ट’ सहभागीका लागि मनोरञ्जनसँगै तनाव कम गर्ने, एकाग्रता बढाउने र नयाँ सिर्जनात्मक अनुभव हासिल गर्ने माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ।

ग्लोबल गुरुकुलले ‘सिप एण्ड पेन्ट’ कार्यक्रमलाई हरेक महिनाको एउटा शनिबार सिर्जनात्मक अनुभवका रूपमा निरन्तरता दिने योजना बनाएको छ। सहभागीको आवश्यकता र रुचिअनुसार परिवार, समूह, विद्यालय, संघसंस्था तथा विभिन्न समुदायका लागि समेत यस्ता कार्यक्रमलाई अनुकूलित गर्न सकिने फाउन्डेसनले जनाएको छ।

पाठ्यपुस्तक र परम्परागत कक्षाकोठाभन्दा बाहिर पनि सिकाइका अवसर सिर्जना गर्ने उद्देश्यसहित ग्लोबल गुरुकुल एजुकेशन फाउन्डेसनको स्थापना सन् २०२६ मा भक्तपुरको सल्लाघारीमा भएको हो। फाउन्डेसनले शिक्षा सहयोग, प्रोजेक्ट तालिम, जिज्ञासा हब, व्यक्तित्व विकास, आख गुठि र शिक्षा सामग्री गरी विभिन्न ६ वटा पहलमार्फत शिक्षामा सहयोग, युवा तथा बालबालिकाको क्षमता विकास, व्यक्तित्व निर्माण तथा सिकाइलाई संस्कृति र समुदायसँग जोड्ने लक्ष्य राखेको छ।

ग्लोबल गुरुकुलका अनुसार ‘सिप एण्ड पेन्ट’ कार्यशाला पनि यही व्यापक सोचको एउटा हिस्सा हो। सिकाइ केवल किताब र कक्षाकोठामा मात्र सीमित हुँदैन; सिर्जनात्मकता, अनुभव, संवाद र सामूहिक सहभागिताबाट पनि सिकाइ सम्भव हुन्छ भन्ने सन्देश कार्यशालाले दिएको आयोजकको भनाइ छ।

भक्तपुरबाट सुरु भएको यस्तो सिर्जनात्मक अभ्यासलाई आगामी दिनमा भक्तपुरलगायत अन्य स्थानमा समेत विस्तार गर्दै लैजाने ग्लोबल गुरुकुलको योजना छ। संस्थाले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम नभई आत्मविश्वास, सिर्जनात्मकता, आपसी सम्बन्ध र समुदायसँगको अपनत्व विकास गर्ने माध्यमसमेत हुनुपर्ने धारणा राखेको छ।

थप जानकारीका लागि
ग्लोबल गुरुकुल एजुकेशन फाउन्डेसन
सल्लाघारी, सुवर्णचोक भक्तपुर
सम्पर्क नं ९८५१४१४५७४
इमेल: [email protected]

Published Date: 16 September 2026