भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी

प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाउँदा पनि सम्बन्धित निकाय मौन, कारबाहीको तयारी

भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी : Icon Khabar
हिजो प्रतिबन्धित क्षेत्र भक्तपुर दरबार क्षेत्रमा उडाइएको ड्रोन

भक्तपुर, भदौ १४ । भक्तपुर दरबार क्षेत्रजस्तो ऐतिहासिक तथा संवेदनशील क्षेत्रमा अनुमति बिना ड्रोन उडाउने क्रम बढे पनि सम्बन्धित निकायले प्रभावकारी निगरानी र कारबाही गर्न नसकेको देखिएको छ।

भक्तपुर दरबार क्षेत्र ड्रोन उडानका दृष्टिले संवेदनशील तथा प्रतिबन्धित क्षेत्र मानिन्छ। यस क्षेत्रमा ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर तथा सम्बन्धित स्थानीय तहबाट आवश्यक पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। त्यस्तै, उच्च क्षमताका ड्रोन प्रयोग गर्नुपर्ने अवस्थामा सम्बन्धित केन्द्रीय निकायबाट समेत अनुमति लिनुपर्ने हुन्छ।

तर पछिल्लो समय भक्तपुरका विभिन्न जात्रा तथा पर्वका क्रममा अनुमति बिना ड्रोन उडाउने र त्यसबाट खिचिएका भिडियो तथा तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने क्रम बढेको छ। विशेषगरी गाईजात्रा, बिस्का जात्रालगायतका समयमा ड्रोन उडाउने होडबाजी नै चलेको देखिन्छ। यसले ऐतिहासिक सम्पदा क्षेत्रसँगै संवेदनशील प्रशासनिक तथा सार्वजनिक स्थलको दृश्य अनधिकृत रूपमा बाहिरिने जोखिमसमेत बढाएको छ।

यस विषयमा आइकन खबरले भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासँग जिज्ञासा राख्दा उनले भक्तपुर दरबार क्षेत्रलगायत संवेदनशील स्थानमा ड्रोन उडानका लागि आफ्नो कार्यालयबाट कसैलाई पनि अनुमति नदिइएको स्पष्ट पारे।

त्यसैगरी, भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले अनुमति नलिई ड्रोन उडाउने व्यक्तिको पहिचान तथा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिए।

एसपी खड्काका अनुसार हिजो सम्पन्न गाईजात्रामा मात्रै नभई यसै वर्षको बिस्का जात्राका क्रममा समेत विभिन्न व्यक्तिले ड्रोन उडाएको पाइएको थियो। जात्रा तथा पर्वका समयमा ठूलो भीडभाड हुने भएकाले ड्रोन उडानको विषयमा अझ संवेदनशील हुनुपर्ने उनले बताए।

उनले जात्रा, पर्व वा विशेष कार्यक्रमको समयमा मात्र नभई कुनै पनि स्थानमा आवश्यक अनुमति नलिई ड्रोन उडाउन नपाइने स्पष्ट पारे।

ऐतिहासिक सम्पदा, प्रशासनिक संरचना तथा संवेदनशील क्षेत्रको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै अनुमति बिना हुने ड्रोन उडानलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ। सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने उद्देश्यले गरिने यस्ता गतिविधिमा सम्बन्धित निकायले स्पष्ट मापदण्ड, नियमित निगरानी र प्रभावकारी कारबाहीको व्यवस्था गर्नुपर्ने देखिन्छ।

Published Date: 30 August 2026


ताजा
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास