भक्तपुर, भदौ ५ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा उद्यमी–व्यवसायीलाई प्रदान गरिएका कर छुट, सेवा सुविधा तथा करसम्बन्धी विविध विषयमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले यस वर्ष सरकारले प्रदान गरेका कर छुट तथा सुविधाको सदुपयोग गर्न उद्यमी–व्यवसायीलाई आग्रह गरे। उनले उद्योग–व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने नीति–नियम तथा उल्लंघन गर्दा हुन सक्ने कानुनी कारबाहीबारे जानकारी दिए।
नायब सुब्बा तुल्सीकुमार मल्लले मोबाइल तथा कम्प्युटरबाट घरमै बसेर स्थायी लेखा नम्बर (PAN) लिन तथा कर दाखिला गर्ने प्रक्रियाबारे जानकारी दिए।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष तथा संघका पूर्वअध्यक्ष वीरेन्द्र जति, निवर्तमान अध्यक्ष प्रेम खर्बुजा र अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कर तिर्नु उद्यमी–व्यवसायीको दायित्व भएको बताउँदै समयमै कर तिर्न आग्रह गरे।
अन्तरक्रियाका क्रममा सहभागी उद्यमी–व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको कोइराला र मल्लले जवाफ दिए। कार्यक्रमको सञ्चालन संघकी सचिव श्रीजना कक्षपतिले गरेकी थिइन्।
Published Date: 21 August 2026