भक्तपुर, भदौ ३ । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति–सुरक्षा, सडक सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सेवातर्फ उल्लेख्य गतिविधि गरेको जनाएको छ। परिसरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउन महिनामा ९९ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन् भने जिल्लाका विभिन्न प्रहरी इकाइमा गरी ६९६ वटा मुद्दा पेन्डिङ अवस्थामा रहेका छन्।
परिसरका अनुसार साउन महिनामा कुल ११० मुद्दा दर्ता भएका छन् भने ४९ मुद्दा फर्छ्योट भएका छन्। गम्भीर तथा जघन्य अपराधतर्फ लागूऔषधका ७, कर्तव्य ज्यानका ५, जबरजस्ती करणीका ३ र ज्यान मार्ने उद्योगका २ गरी १७ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ४७ र ठगीका १२ गरी ५९ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणमा पनि सक्रियता
साउन महिनामा लागूऔषधसम्बन्धी ७ वटा मुद्दा दर्ता गरी १२ जना पक्राउ गरिएको छ। प्रहरीले डाइजोपाम ४३ थान, नुर्फिन ५१ थान, फेनारगन ४४ थान, ट्रामाडोल ९०३ क्याप्सुल, १४ किलो गाँजा तथा ७.४१ ग्राम खैरो हेरोइन बरामद गरेको विवरणमा उल्लेख छ।
प्रहरीले अपराध नियन्त्रणका लागि मोबाइल गस्ती, नाका चेकजाँच, पिकेट तथा शहरी, ग्रामीण, पैदल र सवारी गस्तीलाई निरन्तरता दिएको जनाएको छ। सम्भावित अपराधीको खोजी तथा नियन्त्रणका लागि Cordon, Ambushing and Search लगायतका अभियानसमेत सञ्चालन गरिएको छ।
३१ सवारी दुर्घटना, २ जनाको मृत्यु
सडक सुरक्षातर्फ साउन महिनामा भक्तपुरमा ३१ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। दुर्घटनामा २ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् भने प्रहरीले ४९ जनाको उद्धार गरेको जनाएको छ। दुर्घटनाका प्रमुख कारणमा लापरबाहीपूर्वक सवारी चलाउनु १०, चालकको सडकमा ध्यान नहुनु ८, तीव्र गति ६ र मादक पदार्थ सेवन ५ घटना रहेका छन्।
ट्राफिक चेकिङका क्रममा ३ हजार ४०० वटा कारबाही गरिएको र त्यसबाट १४ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।
४० जना हराए, ३५ जना फेला
साउन महिनामा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ४० जना हराएको विवरण प्रहरीमा आएको थियो। तीमध्ये ३५ जना फेला परेका छन् भने ५ जना अझै फेला पर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ।
घरेलु हिंसातर्फ ८ वटा उजुरी परेकोमा ३ वटा शारीरिक र ५ वटा मानसिक हिंसासम्बन्धी रहेको प्रहरीले जनाएको छ।
विपद्मा १८ लाख ६० हजारभन्दा बढीको क्षति
साउन महिनामा आगलागी, बाढी/वर्षा र पहिरोका गरी १० वटा विपद्का घटना भएका छन्। ती घटनाबाट एक जनाको मृत्यु, तीन जना घाइते र चार जनाको प्रहरीले उद्धार गरेको छ। विपद्का कारण कुल १८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
समुदाय र विद्यालय केन्द्रित कार्यक्रम पनि बढाइयो
प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित विभिन्न १३२ वटा कार्यक्रम सञ्चालन गरी ६ हजार ५०६ जनालाई सहभागी गराएको जनाएको छ। यस्ता कार्यक्रममा अन्तरक्रिया तथा छलफल, अभिमुखीकरण, घरदैलो, स्वास्थ्य शिविर, प्रशिक्षण, रक्तदान, सरसफाइ, वृक्षरोपणलगायतका गतिविधि समेटिएका छन्। साथै १६ वटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ८९८ विद्यार्थीलाई सहभागी गराइएको छ।
नागरिकसँग प्रत्यक्ष संवादका लागि सातवटा सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरिएको र त्यसमा ३८८ जना सहभागी भएको प्रहरीले जनाएको छ। सडक दुर्घटना, दुर्व्यवहार, चोरी–लुटपाट, साइबर अपराध, लागूऔषध दुर्व्यसन, CCTV तथा सडक बत्ती र प्रहरी गस्ती बढाउनुपर्ने विषय नागरिकबाट उठाइएको थियो।
प्रहरीका अनुसार साउन महिनामा विभिन्न हटलाइन तथा सम्पर्क नम्बरमा ११ हजार २८ कल प्राप्त भएका छन् भने कुल ५ हजार ७६ जना सेवाग्राहीले सेवा लिएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा, समुदायसँगको सहकार्य र सडक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत गतिविधि थप प्रभावकारी बनाउने जनाएको छ।