रसुवा, साउन २६ । जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने धार्मिक मेलालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन व्यवस्थापकीय तयारी तीव्र पारिएको छ। आगामी भदौ १२ गते पर्ने जनैपूर्णिमालाई लक्षित गरी मेला व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम अघि बढाइएको छ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा र दररेट निर्धारण लगायतका ११ वटा उपसमिति गठन गरिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोसाइँकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सुरक्षित र सफल बनाउने उद्देश्यले गठित उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम सुरु गरिसकेका छन्। स्थानीय तह तथा समुदाय, सुरक्षा निकाय र स्वास्थ्य संस्थाबीच समेत आवश्यक समन्वय र सहकार्य भइरहेको उनले बताए।
गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार तामाङका अनुसार धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको सुदृढीकरण, खाना–नास्ता र खानेपानीको व्यवस्था, स्वास्थ्य शिविर सञ्चालन तथा उद्धार र राहत व्यवस्थापनका काम अघि बढाइएको छ।
लेक लाग्ने समस्या रोक्न अक्सिजनसहित चिकित्सक टोली
उच्च उचाइका कारण तीर्थयात्रीमा देखिन सक्ने लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै गोसाइँकुण्डमा अक्सिजनसहितको चिकित्सक टोली तैनाथ गरिने भएको छ।
हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँगको समन्वयमा स्वास्थ्य उपचार, उद्धार, सुरक्षा तथा प्रचार–प्रसारका काम सञ्चालन गरिनेछ।
गम्भीर बिरामीको निःशुल्क उद्धार
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले प्रतिकूल मौसमका कारण कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा सम्भव भएसम्म सवारीसाधन र आवश्यकता परे हेलिकोप्टरमार्फत समेत निःशुल्क उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्।
समुद्री सतहबाट ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा तथा दर्शन गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यही धार्मिक आस्थाका कारण नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु गोसाइँकुण्ड पुग्ने गरेका छन्।
काठमाडौंबाट यात्रा सुरु गरी पहिलो दिन रसुवाको देउराली र दोस्रो दिन गोसाइँकुण्ड पुग्न सकिने भएकाले यो क्षेत्र प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको भक्तजन सोनाम ग्याल्वो घलेले बताए।
तीर्थयात्रीको चापलाई लक्षित गरी खाद्यान्न ढुवानी सुरु
मेला नजिकिँदै जाँदा स्थानीय होटल तथा व्यवसायीले खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा आवश्यक सामग्रीको ढुवानी सुरु गरिसकेका छन्।
होटल व्यवसायी पासाङ घ्युर्मी तामाङका अनुसार तीर्थयात्रीको सम्भावित चापलाई ध्यानमा राख्दै खाद्य सामग्रीको पर्याप्त व्यवस्था गर्न ढुवानी कार्य अघि बढाइएको छ। यस्तै, पैदलमार्गमा करिब २०० वटा थर्कु (अस्थायी छाप्रा) निर्माण गर्ने कामसमेत सुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिए।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली सभ्यताको अनुपम सङ्गमका रूपमा परिचित गोसाइँकुण्डमा यस वर्ष पनि हजारौँ श्रद्धालुको सहभागिता हुने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए।
यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीका लागि आवश्यक सुरक्षा तथा उद्धारको व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर यात्रा गर्न आग्रह गरेका छन्।