भक्तपुर, साउन २३ । नेपाली सुगम संगीतका लोकप्रिय गायक तथा संगीतकर्मी स्वर्गीय अरुण थापाको २७औँ स्मृति वर्षको अवसरमा भक्तपुरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ।
भक्तपुर सांगीतिक समाजको आयोजनामा यहि साउन ३० गते शनिबार भक्तपुर–१, श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
स्वर्गीय अरुण थापाको सांगीतिक योगदानको स्मरण तथा सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा उनका कालजयी गीत–संगीत प्रस्तुत गरिनेछ। नेपाली संगीत क्षेत्रमा थापाले पुर्याएको योगदानलाई स्मरण गर्दै उनको सिर्जना र गायनलाई नयाँ पुस्तामाझ समेत पुर्याउने प्रयासस्वरूप कार्यक्रम गर्न लागिएको हो।
थापाका ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘आँखाको निन्द खोसिलाने’, ‘चोट के हो, व्यथा के हो’ लगायतका गीत नेपाली संगीतप्रेमीमाझ अझै लोकप्रिय छन्। उनका गीतले नेपाली सुगम संगीतमा छुट्टै पहिचान बनाएका छन्।
कार्यक्रमलाई मोडर्न स्कुल/कलेज र खुकुरी हाउस नेपालले सहयोग गरेका छन्। त्यसैगरी भिभिड कन्सल्टेन्ट्स र आर्गस एजुकेशन भक्तपुर सूर्यविनायक र ग्रेट वाल टुर्स एन्ड ट्राभल पनि सहयोगीका रूपमा रहेका छन्।
कार्यक्रमको फोटोग्राफी पार्टनरका रूपमा ट्रायङ्गल फोटो स्टुडियो र भिडियो पार्टनरका रूपमा ग्लोबल प्रोडक्सन रहेका छन्।
त्यस्तै, रेडियो पार्टनरका रूपमा भक्तपुर एफएम १०५.४ र अनलाइन मिडिया पार्टनरका रूपमा आइकन खबर डटकम रहेको छ। कार्यक्रमको डिजाइन पार्टनरका रूपमा वयजु रहेको आयोजकले जनाएको छ।
विभिन्न संस्था, व्यवसाय तथा सञ्चारमाध्यमको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमले स्वर्गीय अरुण थापाको सांगीतिक योगदानलाई स्मरण गर्नुका साथै भक्तपुरको सांगीतिक गतिविधिलाई समेत थप ऊर्जा दिने अपेक्षा गरिएको छ।
भक्तपुरमा यसअघि पनि अरुण थापाको स्मृतिमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना हुँदै आएका छन्। यसपटकको कार्यक्रमलाई समेत संगीतकर्मी, कलाकार, संगीतप्रेमी तथा शुभेच्छुकहरूको सहभागितामा विशेष बनाउने तयारी गरिएको समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।
Published Date: 08 August 2026