वासिङ्टन, साउन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले राष्ट्रिय सुरक्षामा ‘अस्वीकार्य जोखिम’ रहेको भन्दै नयाँ विदेशी निर्मित मानवसदृश रोबोटहरूको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ।
मंगलबार सार्वजनिक गरिएको निर्णयअनुसार उन्नत मानवसदृश तथा चार खुट्टे रोबोटहरूमा यो प्रतिबन्ध लागू हुनेछ। यस्ता अधिकांश रोबोट चीनमा उत्पादन हुने गरेका छन्। हाल चीन र अमेरिका रोबोट प्रविधि तथा कृत्रिम बौद्धिकता विकासमा तीव्र प्रतिस्पर्धामा छन्।
अमेरिकी सङ्घीय सञ्चार आयोगले तथ्याङ्क केन्द्र र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने विद्युत् रूपान्तरण उपकरणको आयातमा पनि प्रतिबन्ध लगाएको छ। आयोगले ती उपकरणले पनि अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्न सक्ने जनाएको छ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले भने व्यापारिक विषयलाई राजनीतिकरण गर्दै आधारहीन बहानामा प्रतिबन्ध लगाउने अमेरिकी कदमको चीनले लामो समयदेखि विरोध गर्दै आएको जनाएको छ।
सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले अमेरिकाका महत्त्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित बनाउने प्रयासअन्तर्गत आयोगले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताए।
आयोगले यी सामग्रीलाई राष्ट्रिय सुरक्षाका लागि जोखिमयुक्त मानिने वस्तु तथा सेवाको सूचीमा समावेश गरेको छ।
यो प्रतिबन्ध नयाँ विदेशी उत्पादन भएका उन्नत रोबोट र विद्युत् रूपान्तरण उपकरणमा मात्र लागू हुनेछ। यसअघि आयोगबाट स्वीकृति प्राप्त गरिसकेका उपकरण तथा रोबोटको बिक्री वा आयातमा भने रोक लाग्ने छैन।
आयोगका अनुसार विदेशी निर्मित विद्युत् रूपान्तरण उपकरणमार्फत विदेशी कम्पनीहरूले ती उपकरण बन्द गरिदिन, तथ्याङ्क चोरी गर्न, टाढाबाट पहुँच कायम गर्न, निगरानी गर्न वा साइबर आक्रमणमार्फत दुरुपयोग गर्न सक्ने जोखिम छ।
त्यस्तै, अमेरिकाबाहिर निर्मित रोबोटको प्रयोगले दुर्भावनापूर्ण पक्षलाई अमेरिकी नागरिकमाथि निगरानी गर्न, विदेशी गुप्तचर निकायको क्षमता बढाउन वा टाढाबाट रोबोट नियन्त्रणमा लिन सक्ने सम्भावना रहेको आयोगको भनाइ छ।
चिनियाँ दूतावासले चीनको हितमा असर पार्ने कुनै पनि कदमको उचित जवाफ दिन आवश्यक सबै उपाय अपनाइने चेतावनी दिँदै सबै देशलाई कृत्रिम बौद्धिकताको सकारात्मक र मानवहितमा उपयोग हुने विकासका लागि सहकार्य गर्न आग्रह गरेको छ।
Published Date: 29 July 2026