भक्तपुर, असर ३१ । भक्तपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयमा स्वास्थ्य परीक्षणका नाममा सेवाग्राहीमाथि आर्थिक शोषण भइरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले यातायात कार्यालयमा हुने अनियमितता आफूले सदनमा उठाएको विषय “कपोकल्पित नभई आफैंले भोगेको यथार्थ” भएको दाबी गरेका छन्। उनले सरकारले जारी गरेको विज्ञप्तिले वास्तविक समस्या ढाकछोप गर्न नसक्ने बताएका छन्।
खत्रीले भिजन टेस्टका लागि एबीसीडी चार्ट देखाएर १७५ रुपैयाँ शुल्क असुल्नु ‘नीतिगत भ्रष्टाचार’ भएको आरोप लगाएका छन्। उनका अनुसार सेवाग्राहीले १०० रुपैयाँमै नेपाल आँखा अस्पतालजस्ता संस्थाबाट आधुनिक उपकरण र दक्ष चिकित्सकमार्फत सेवा पाउन सक्ने अवस्था हुँदाहुँदै बढी शुल्क लिनु उचित नभएको उल्लेख गरेका छन्।
उनले शुल्क उठाएपछि पनि सामान्य अवस्थामा रहेका सेवाग्राहीलाई स्वास्थ्य परीक्षणमा असफल घोषित गरी थप परीक्षणका लागि निजी क्लिनिकमा पठाइने गरेको आरोप लगाएका छन्। यसबाट बिना लगानी निजी व्यक्तिको खातामा ठूलो रकम जाने, बिचौलिया मोटाउने र राज्य कमजोर बन्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
सांसद खत्रीले शुल्क उल्लेख्य रूपमा बढाइए पनि सेवाको गुणस्तर भने झन् कमजोर बनेको दाबी गरेका छन्। साथै, नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था हुँदाहुँदै कार्यालयले तोकेका चिकित्सकबाट मात्रै सेवा लिन बाध्य पारिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनले आँखा परीक्षणको जिम्मेवारी पाएको क्लिनिक सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएको हो वा होइन भन्ने विषय पनि सार्वजनिक गर्न माग गरेका छन्। साथै, एक वर्षका लागि सूचीकृत गर्ने सूचना निकालिए पनि सम्झौता भने तीन वर्षका लागि किन गरिएको भन्ने विषयमा समेत स्पष्ट जवाफ माग गरेका छन्।
सांसद खत्रीले स्वास्थ्य परीक्षण सेवालाई “बिचौलियाको कमाइको माध्यम” बनाइएको आरोप लगाउँदै बागमती प्रदेशका मुख्यमन्त्री र यातायातमन्त्रीमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले जनतालाई आर्थिक भार बोकाउने र निजी क्लिनिकलाई लाभ पुग्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अन्त्यमा “अब लुट गर्नेका लागि यो देश कमाउने धन्दा र फटाहाहरूका लागि स्वर्ग बन्न नसक्ने” चेतावनीपूर्ण अभिव्यक्ति समेत दिएका छन्।
Published Date: 15 July 2026