काठमाडौं, असार ३० । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने दाबी पूर्ण रूपमा भ्रामक र तथ्यहीन भएको स्पष्ट गरेको छ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा “ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता पाउने गरेका छन्” भन्ने आशयका समाचार, टिप्पणी तथा सामग्री सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवि नारायण काफ्ले ले जारी गरेको प्रेस विज्ञप्तिमा ट्राफिक जरिवानाबाट संकलित सम्पूर्ण रकम सिधै सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, उक्त जरिवानाबाट ट्राफिक प्रहरीले कुनै पनि प्रकारको अतिरिक्त शुल्क, कमिसन वा विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारिएको छ।
नेपाल प्रहरीले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्ने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने जनाएको छ।
प्रहरीले सत्यतथ्य नबुझी यस्ता भ्रामक सूचनाको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न सबैमा अनुरोध गरेको छ।
Published Date: 14 July 2026