ओयार्जाबालको दुई गोलमा स्पेन अन्तिम १६ मा, अस्ट्रियामाथि ३–० को सानदार जित

ओयार्जाबालको दुई गोलमा स्पेन अन्तिम १६ मा, अस्ट्रियामाथि ३–० को सानदार जित : Icon Khabar

काठमाडौं, असार १९ । पूर्व विश्वविजेता स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलसस्थित स्टेडियममा सम्पन्न खेलमा स्पेनले युरोपेली प्रतिद्वन्द्वी अस्ट्रियालाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि दावेदारको रूपमा आफ्नो बलियो उपस्थितिसमेत दर्ज गराएको हो।

खेलको सुरुवातदेखि नै स्पेनले बल नियन्त्रणमा राख्दै अस्ट्रियामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। स्पेनको आक्रामक खेलशैलीका कारण अस्ट्रियाली रक्षापङ्क्ति सुरुदेखि नै दबाबमा देखिएको थियो।

खेलको ३६औँ मिनेटमा डिफेन्डर मार्क कुकुरेलाको सटीक पासलाई सदुपयोग गर्दै मिकेल ओयार्जाबालले उत्कृष्ट गोल गरे। उक्त गोलसँगै स्पेनले १–० को अग्रता बनायो। पहिलो हाफ यही अग्रतासहित सकिएको थियो।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई अझ तीव्र बनायो। खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको उत्कृष्ट पासमा पेड्रो पोरोले आकर्षक हेडरमार्फत गोल गर्दै स्पेनको अग्रता २–० मा पुर्‍याए। त्यसपछि अस्ट्रियाले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको संगठित रक्षा र प्रभावशाली मिडफिल्डका अगाडि उनीहरूको प्रयास सफल हुन सकेन।

खेल सकिनै लाग्दा ८९औँ मिनेटमा मार्क कुकुरेलाकै अर्को शानदार असिस्टमा मिकेल ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जितलाई ३–० मा सुरक्षित बनाए। ओयार्जाबालको दोहोरो गोल र कुकुरेलाको दुई उत्कृष्ट असिस्ट स्पेनको जितका मुख्य आधार बने।

यो जित स्पेनका लागि केवल अर्को चरणको यात्रा मात्र नभई लामो समयदेखिको नकआउट चरणको निराशाजनक इतिहास अन्त्य गर्ने अवसर पनि बन्यो। सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेपछि स्पेनले नकआउट चरणमा उल्लेखनीय सफलता हासिल गर्न सकेको थिएन। सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा आयोजक रुस तथा २०२२ मा मोरक्कोसँग अन्तिम १६ मा पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

१६ वर्षपछि नकआउट चरणमा प्राप्त यस महत्वपूर्ण जितले स्पेनी टोली र समर्थकहरूमा नयाँ ऊर्जा थपेको छ। प्रशिक्षक लुइस डे ला फुएन्टेको रणनीतिअनुसार युवा तथा अनुभवी खेलाडीहरूको सन्तुलित प्रदर्शनले अस्ट्रियालाई पूर्ण रूपमा दबाबमा राख्यो।

यस सानदार जितसँगै स्पेन अब क्वार्टरफाइनल प्रवेशका लागि अर्को चुनौती सामना गर्ने तयारीमा जुटेको छ भने अस्ट्रियाको विश्वकप यात्रा थप कठिन बनेको छ।

Published Date: 03 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली