काठमाडौंमा ‘ब्लु बस’: पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने

काठमाडौंमा ‘ब्लु बस’: पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने : Icon Khabar

काठमाडौं, असार १८ । सरकारले काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिए ।

‘महिलाहरूलाई निःशुल्क र सुरक्षित यात्राका लागि ब्लु बस चलाउने सरकारको नीति अनुसार काम अगाडि बढाएका हौं,’ लम्सालले भने । ब्लु बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले साझाका आठ वटा बसलाई ब्लु बस बनाउने सैद्धान्तिक सहमति भइसकेको र बजेट लगायतका केही काम बाँकी रहेको बताए ।

रिंगरोडमा चार, लगनखेल–बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट–नागढुंगा रुटमा दुई वटा बस सञ्चालन गरिने अर्यालले जानकारी दिए । उनले सकेसम्म साउन महिनाभित्रै शुरु गर्ने गरी काम भइरहेको बताए ।

सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने भनिएको छ । शासकीय सुधारको ९७ औं बुँदामा भनिएको छ, ‘पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने ।’

नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले सञ्चालन रहेकै बसलाई ब्लु बसको रुपमा चलाउन लागिएको एक सरकारी अधिकारीले बताए ।

साझा यातायातमा ९० प्रतिशतभन्दा बढी शेयर नेपाल सरकारको छ । यो सार्वजनिक यातायात कम्पनीमा नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाले लगानी गरेको छ ।

Published Date: 02 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली