भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : Icon Khabar

भक्तपुर, असार ७  । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिले नगरसभामा प्रस्तुत गरेको कार्यक्रम अनुसार शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन, पूर्वाधार निर्माण र वातावरण व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले आफ्ना शैक्षिक संस्थाहरूमा नयाँ विषय थप गर्ने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र विद्यार्थीलाई इन्टर्नसीपको अवसर उपलब्ध गराउने योजना अघि सारेको छ। साथै, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।

स्वास्थ्यतर्फ ख्वप अस्पताललाई स्तरोन्नति गरी एमआरआई, आईसीयू लगायतका सेवा विस्तार गर्ने तथा मृगौला उपचारका लागि डायलाइसिस सेवा थप गर्ने तयारी गरिएको छ। नगरबासीका लागि ‘घरदैलो नर्सिङ सेवा’लाई थप प्रभावकारी बनाइने जनाइएको छ।

सम्पदा तथा संस्कृतिको संरक्षणलाई जोड दिँदै विभिन्न ऐतिहासिक संरचनाहरूको पुनःनिर्माण र अभिलेखीकरण गरिनेछ। भक्तपुरलाई सांस्कृतिक नगरका रूपमा विकास गर्ने लक्ष्यसहित मेला, उत्सव तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने कार्यक्रम समावेश गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक क्यालेण्डर निर्माण, पदयात्रा कार्यक्रम र होमस्टे सञ्चालनलाई प्रोत्साहन गरिनेछ। साथै, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसहितका मेला नियमित आयोजना गरिने योजना छ।

वातावरणतर्फ सरसफाइ अभियानलाई निरन्तरता दिँदै वृक्षारोपण, प्लास्टिक प्रयोग न्यूनीकरण र फोहोर व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ। ढल निकास सुधार तथा भूमिगत तार व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ।

खानेपानी, कृषि, सहकारी तथा युवामुखी कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समेटिएका छन्। युवालाई सीपमूलक तालिम, सहुलियत ऋण तथा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

पूर्वाधार निर्माणतर्फ विभिन्न मन्दिर, दरबार, सडक र सार्वजनिक संरचनाहरूको पुनःनिर्माण तथा स्तरोन्नति गरिने योजना प्रस्तुत गरिएको छ।

नगरपालिकाले सीमित स्रोत साधनका बाबजुद प्राथमिकताका आधारमा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

Published Date: 21 June 2026